तुलसीपुर, ९ असोज जेनजी आन्दोलनका क्रममा भएको आगलागीले ठप्प बनेको तुलसीपुर मालपोत कार्यालयको कामकाज शुक्रबारदेखि आंशिक रूपमा पुनः सुरु हुने भएको छ। करिब १६ दिनदेखि रोकिएको सेवा क्रमशः पुनः सञ्चालनमा ल्याउने तयारी भएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख खिमबहादुर खड्काका अनुसार धितोबन्धक, रोक्का फुकुवा जस्ता दैनिक कार्यहरू पुरानै भवनबाट पुनः सुरु हुनेछन्। तर, राजीनामा, अंशबन्डा, अंशभरपाई, हकछोड, बकस तथा गुठीसम्बन्धी काम भने असोज १९ गतेदेखि मात्र सञ्चालन हुने योजना छ। हाल साविकका १३ मध्ये केही गाविसका नजलेर बाँकी रहेका मोठ स्रेस्ता आधारमा मात्रै सेवा उपलब्ध हुने जानकारी दिइएको छ। तुलसीपुर, लाहुरेचौर, मानपुर, हलवार, बयाले सिमतरा र बाघमारे क्षेत्रमा भने पूर्ण सेवा सुरु हुने र बाँकी स्थानमा आगलागीबाट नष्ट नभएका मोठ स्रेस्ता भएका सेवामात्र उपलब्ध हुने कार्यालयको स्पष्टिकरण छ।

गत भदौ २४ गतेको आगलागीमा कार्यालयका जिन्सी सामग्री, मोठ स्रेस्ता, तामेली मिसिल, प्रशासनिक कागजात, विद्युत् तथा नेटवर्क प्रणाली र स्टेशनरीसमेत जलेर नष्ट भएका थिए। सीमित साधनस्रोतमै सेवा सुचारु गर्न लागिएकोले पश्चिम दाङका चार पालिकाले सेवाग्राहीको सहजताका लागि सहयोग पुर्‍याउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस