दाङ, १० जेठ । साहित्यकार शरद गौतमको मुक्तक संग्रह ‘भावनाका लहर’ को विमोचन गरिएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा आइतबार घोराहीमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवं प्राज्ञिक व्यक्तित्व उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाललगायतका अतिथिहरुले मुक्तक संग्रहको संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा मुक्त संग्रहको समीक्षा गर्दै साहित्यकार डा. हिमलाल पन्थीले भावना, लय एवं वर्णविन्यासका दृष्टिले पुस्तक उत्कृष्ट रहेको बताउँदै संग्रहले सामाजिक यथार्थको सशक्त चित्रण गर्दै सुधारका निम्ति मुक्तकको माध्यमबाट सन्देश प्रवाह गरिएको बताउनुभयो ।

जन्मभूमिप्रतिको प्रेम, सरल भाषाशैली र प्रभावकारी प्रस्तुति संग्रहका विशेषता रहेको बताउँदै उहाँले संग्रहभित्र सामाजिक विषयवस्तुसँगै हास्य, व्यङ्ग्य, आक्रोशलगायतका विषयमा लेखिएका मुक्तकहरु रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँले लेखक गौतमको प्रथम कृति भए तापनि भाषाशैली र प्रस्तुतिका दृष्टिले संग्रह पठनीय एवं सह्राहनीय भएको बताउनुभयो ।

कार्यक्रमका अन्य वक्ताहरूले संग्रहमा देशप्रेम, प्रकृति र जीवनदर्शनका साथै राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा विद्यमान विकृति र विसंगतिको चित्रण गर्दै सुधारको सन्देश दिएको बताउनुभएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयमा आवद्ध भएर ३८ वर्ष शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनु भएका लेखक गौतमले सेवा निवृत्त भएपछिको समयलाई सदुपयोग गर्दै मुक्तकको संग्रह प्रकाशन गरेको जानकारी दिनुभयो । संग्रहमा दुई सय ८० वटा मुक्तक समावेश गरिएका छन् ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारीलगायते शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस