काठमाडौं, १ असार । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पदग्रहण कार्यक्रममा बोल्दै आचार्यले सूचना र प्रविधिको युगमा प्रचार–प्रसारको शैलीलाई आधुनिक र प्रभावकारी बनाउने बताउनु भएकाे हाे। उहाँले अब एमालेको प्रचार कार्य परम्परागत सीमाभन्दा माथि उठेर डिजिटल सञ्चारमा केन्द्रित हुने उल्लेख गर्नुभयाे । ‘हाम्रो विचार–डिजिटल सञ्चार, अब एमालेको विचार हरेक नागरिकको मोबाइल स्क्रिन र मन–मनमा पुग्नेछ,’ प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले भन्नुभयाे, ‘हामी प्रविधिलाई पछ्याउने मात्र होइन, प्रविधिको नेतृत्व गर्ने विभागका रूपमा अघि बढ्नेछौँ।’
आचार्यले पार्टी, नेतृत्व र विचारविरुद्ध फैलाइने भ्रम तथा दुष्प्रचारको सत्य र तथ्यका आधारमा प्रतिवाद गरिने बताउनुभयाे। ‘हामी प्रोपोगान्डा र दुष्प्रचार गर्दैनौँ, तर विरोधीका हरेक भ्रमलाई सत्यको बलले ध्वस्त पार्नेछौँ। सत्यभन्दा शक्तिशाली कुनै प्रचार हुँदैन,’ उहाँले भन्नुभयाे ।
विभाग प्रमुख आचार्यले आफू विभागको ‘कमान्डर’ नभई सबैको ‘सहयात्री’ का रूपमा काम गर्न आएको उल्लेख गर्दै सामूहिक नेतृत्व, टिमवर्क र आधुनिक कार्यशैलीलाई प्राथमिकता दिने बताउनुभयाे। ‘विचारमा स्पष्टता, कार्यशैलीमा आधुनिकता र टिमवर्कमा गतिशीलता नै हाम्रो सफलताको मूल मन्त्र हुनेछ,’ उहाँको भनाइ थियो।
पदभार ग्रहण गर्दै आचार्यले पार्टी नेतृत्वप्रति विश्वास र जिम्मेवारीका लागि आभार व्यक्त गर्नुभयाे । साथै, विभागलाई अहिलेको अवस्थामा पुर्याउन योगदान दिने निवर्तमान नेतृत्व र टोलीप्रति धन्यवाद व्यक्त गर्दै हिजोका उपलब्धिलाई निरन्तरता दिँदै नयाँ ऊर्जा र प्रविधिसहित विभागलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयाे ।
आचार्यले प्रचार तथा प्रकाशन विभागलाई पार्टीको नीति, विचार र सिद्धान्त जनतामाझ पुर्याउने महत्वपूर्ण ‘पावरहाउस’ को संज्ञा दिँदै आगामी दिनमा सबैको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा रहेको बताउनुभयाे ।












