डोल्पा, १७ साउन । डोल्पोबुद्ध गाउँपालिका डोल्पाको आयोजनामा जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरूका लागि ५ दिने क्षमता विकास तालिम आइतबारदेखि सुरु भएको छ ।
पालिकाले कर्मचारीहरुको काम गर्ने तरिकामा फरकपन ल्याउन, बानी व्यवहारमा सुधार गर्न र कार्यप्रति उत्सुकता जगाउने मुख्य उद्देश्यका साथ तालिम सञ्चालन गरेको जनाएको छ । कृषि विकास अधिकृत अमृत खड्काको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङको प्रमुख अतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो । कार्यक्रमको प्रशिक्षकहरुमा प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापा, गंगाबहादुर शाही, वरिष्ठ इन्जिनियर राजेन्द्र ठकुल्ला, कृषि अधिकृत बुद्धि बहादुर बुढाथोकी र कम्प्युटर इन्जिनियर अरुणकुमार दास रहनुभएको छ ।
तालिममा गाउँपालिकामा कार्यरत कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक एवं कर्मचारीहरुको सहभागिता रहेको छ । साथै तालिमको अन्तिम दिन कार्यपालिका सदस्यहरूको समेत सहभागिता रहने छ ।
तालिममा मुख्य गरी सूचना तथा सञ्चार प्रविधि, कार्यालय व्यवस्थापन, सार्वजनिक खरिद प्रक्रिया र जिन्सी व्यवस्थापन जस्ता व्यावहारिक विषयहरूमा गहन प्रशिक्षण दिइने कार्यतालिका रहेको छ ।
तालिमबाट जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको ज्ञान, सीप, क्षमता र पेसागत धारणामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ । तालिमपश्चात् पालिकाको दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह थप प्रभावकारी, प्रविधिमैत्री र पारदर्शी बन्ने विश्वास लिइएको छ । उद्घाटन कार्यक्रमको सहजीकरण प्रा.स. भिमसेन बि.क.ले गर्नुभएको थियो ।











