नवराज खत्री

घाेराही, ४ असाेज । घोराही उपमहानगरपालिका क्षेत्रअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सहभागितामा आयोजित शिक्षक–कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता–२०८३ को उपाधि वडा नं. १२ ले जितेको छ।

वडा नं. १२ अन्तर्गतको माध्यमिक विद्यालय हापुर–विजौरीको टोलीले फाइनल खेलमा वडा नं. १९ अन्तर्गतको भगवती माध्यमिक विद्यालयलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा घोराही उपमहानगरपालिकाका ६ वटा वडाका विद्यालयले वडागत समूह बनाएर सहभागिता जनाएका थिए। प्रतियोगितामा माध्यमिक विद्यालय जरजरागाउँ (वडा नं. ६), सिद्धरत्न माध्यमिक विद्यालय नारायणपुर (वडा नं. १०), माध्यमिक विद्यालय विजौरी (वडा नं. १२), पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय (वडा नं. १५), गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरा (वडा नं. १७) र भगवती माध्यमिक विद्यालय होडबाङ (वडा नं. १९) सहभागी भएका थिए।

घोराही क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी कृष्णबहादुर डाँगी, खड्कबहादुर वली, दीपक वली, देवेन्द्रसिंह ठकुरी र अमृत श्रेष्ठको संयुक्त प्रयासमा प्रतियोगिता आयोजना गरिएको हो।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेयले यस्ता प्रतियोगिताले शिक्षक तथा कर्मचारीबीच भाइचारा र आपसी सम्बन्ध विकास गर्नुका साथै स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले पहिलोपटक पाँच जनाको प्रयासमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै आगामी दिनमा संगठित भएर समिति गठन गरी सामुदायिक विद्यालयका विद्यार्थीका लागि समेत खेलकुदलगायत अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सुझाव दिनुभयो। त्यस्ता गतिविधिमा आफू र घोराही उपमहानगरपालिकाको सदैव सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

असोज २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा धनमाया बोहोरा र नवराज खत्रीले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो। माध्यमिक विद्यालय जजरागाउँका शिक्षक विश्वास घर्ती प्रतियोगिताको सर्वोत्कृष्ट भलिबल खेलाडी घोषित हुनुभयो।

प्रतियोगितामा सहभागी सबै टोली तथा विजेता र उपविजेता टोलीलाई प्रमाणपत्र र मेडल प्रदान गरी कार्यक्रमका प्रमुख अतिथि राममणी पाण्डे, विशिस्ट अतिथिद्वय घोराही नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुन र प्याब्सन घोराहीका अध्यक्ष बाल्कृष्ण ओलीले सम्मान गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता संयोजक कृष्ण डाँगी र सहजीकरण शिक्षक खड्क ओलीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस