घाेराही, २० कार्तिक। लुम्बिनी फुटबल एकेडेमीले १५ वर्षमुनिका फुटबल खेलाडीलाई लक्षित गरी आयोजना गरेको १५ दिने बन्द प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। विभिन्न जिल्लाबाट आएका युवा खेलाडीहरूको सहभागितामा सञ्चालन गरिएको प्रशिक्षणले उनीहरूको खेल कौशल, अनुशासन र व्यावसायिक फुटबलप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो।
प्रशिक्षण कार्यक्रममा काठमाडौं, सुर्खेत, रुकुम, रोल्पा, बर्दिया, दाङलगायत विभिन्न जिल्लाबाट आएका २४ जना खेलाडी सहभागी भएका थिए। एकेडेमीका सञ्चालक समीर ओलीका अनुसार प्रशिक्षणमा महिला तथा पुरुष दुवै खेलाडीको सहभागिता रहेको थियो। सहभागी खेलाडीहरूलाई फुटबल खेलका आधारभूत सीपदेखि प्राविधिक पक्ष, खेल रणनीति, शारीरिक तन्दुरुस्ती र मैदानमा अपनाउनुपर्ने अनुशासनका विषयमा प्रशिक्षण दिइएको थियो।
प्रशिक्षण अवधिभर विदेशी प्रशिक्षक रेमन तथा नेपाली प्रशिक्षक अजय भुजेलले खेलाडीहरूलाई प्रशिक्षण दिएका थिए। अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा खेलाडीहरूले फुटबल खेलका विभिन्न विधा र सीप सिक्ने अवसर प्राप्त गरेका थिए।
बन्द प्रशिक्षण कार्यक्रमको समापन तथा खेलाडीहरूको बिदाइका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले सहभागी खेलाडीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
सो अवसरमा उहाँले खेलकुद व्यक्तिको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सामूहिक भावनाको विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो।
प्रियासनले भन्नुभयो, “खेलकुद केवल मनोरञ्जन र प्रतिस्पर्धाको विषय मात्र होइन, यो युवाहरूको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार पनि हो। सानै उमेरदेखि उचित प्रशिक्षण, अवसर र प्रोत्साहन पाउने हो भने हाम्रा खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्छन्। त्यसैले स्थानीय स्तरमै खेलाडी उत्पादन गर्ने यस्ता एकेडेमी र प्रशिक्षण कार्यक्रमलाई प्रोत्साहन गर्न आवश्यक छ।”
उहाँले घोराहीमा खेलकुदको विकासका लागि निजी क्षेत्रबाट भइरहेका प्रयासहरू सकारात्मक रहेको उल्लेख गर्दै फुटबललगायत विभिन्न खेलका प्रतिभाहरूलाई अगाडि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
मोफसलमा आफ्नै खेलमैदानसहित घोराही उपमहानगरपालिका–१५ स्थित उखुबारीमा लुम्बिनी फुटबल एकेडेमीले व्यावसायिक रूपमा फुटबल प्रशिक्षण सञ्चालन गर्दै आएको छ। एकेडेमीले नियमित प्रशिक्षणका अतिरिक्त विभिन्न उमेर समूहका खेलाडीलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम तथा प्रतियोगिताहरू आयोजना गर्दै आएको छ।
एकेडेमीमा आवासीय रूपमा बसेर समेत बालबालिका तथा किशोरकिशोरीहरूले फुटबल सिकिरहेका छन्। जिल्लाबाहिरका खेलाडीलाई समेत घोराहीमै आएर फुटबल सिक्ने वातावरण निर्माण हुनु स्थानीय खेलकुद क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
यस्ता बन्द प्रशिक्षण कार्यक्रमले नयाँ खेलाडी उत्पादन गर्नुका साथै घोराहीलाई फुटबल प्रशिक्षण र खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। लुम्बिनी फुटबल एकेडेमीले आगामी दिनमा पनि खेलाडीको क्षमता विकास र फुटबलको व्यावसायिक विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ।












