घोराही, २२ कार्तिक। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै चुनावी भेटघाट र प्रचारप्रसारलाई तीव्रता दिनुभएको छ ।
यसैक्रममा नेता खनालले दाङ, बाँके र बर्दियाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गर्नुभएको छ । भेटघाटका क्रममा उहाँले बदलिँदो समय र जनताको चाहनाअनुसार पार्टीलाई जनतासँग जोड्न तथा सङ्गठनलाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।
घोराही निवासी खनालले पार्टी सङ्गठनलाई थप सुदृढ र एकताबद्ध बनाउँदै जनतामाझ कांग्रेसको सम्बन्ध विस्तार गर्ने आफ्नो योजना रहेको उल्लेख गर्नुभयो । सबै नेता तथा कार्यकर्तासँग समन्वय र सहकार्य गरेर पार्टीलाई अघि बढाउन सक्ने नेतृत्व आवश्यक रहेको भन्दै उहाँले प्रदेश सभापतिको निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहनुभएका खनालले उम्मेदवारी घोषणा गरेसँगै नेता तथा कार्यकर्तासँग भेटघाट र छलफललाई प्राथमिकता दिएको बताउनुभयो ।
नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट नेपाली कांग्रेसमा सक्रिय हुनुभएका खनालले विद्यार्थी सङ्घको जिल्ला अध्यक्षमा दुई कार्यकाल र केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ संविधानसभा सदस्य, प्रदेशसभा सदस्य तथा प्रदेश मन्त्री हुँदै हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेशको उपसभापतिको जिम्मेवारीमा हुनुहुन्छ ।












