डोल्पा , १० मंसिर । कर्णाली प्रदेशको गाउँसभा र नगरसभा सञ्चालन ( कार्यविधि ) ऐन , २०७५ को दफा १६ बमोजिम डोल्पोबुद्ध गाउँपालिका, गाउँसभाको २० औँ अधिवेशन सम्पन्न भएको छ ।

​मंसिर ९ गतेदेखि सुरु भएको गाउँसभा अध्यक्ष कार्मा छोइवेल गुरुङको अध्यक्षतामा सञ्चालन भएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङ तथा गाउँसभा सदस्य छिरिङ घुटुर मगर , लाक्पा तुण्डुप लामा , कोन्छोक ग्याल्छेन गुरुङ र नुर्बु डम्डुल गुरुङले स्वागत एवं अधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । दुई दिनसम्म चलेको अधिवेशनमा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिसम्मको नीति , कार्यक्रम तथा योजनाको समीक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदनमाथि छलफल गर्दै कार्यान्वयनको अवस्था , उपलब्धि र आगामी कार्यदिशाबारे विमर्श भएको छ ।

अधिवेशनले डोल्पोबुद्ध गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन , २०७५ को पहिलो संशोधन विधेयक पारित गरेको छ । साथै लेखा समितिको वार्षिक लेखा परीक्षण प्रतिवेदन , बेरुजु फर्स्यौट , बजेट रकमान्तर तथा स्रोतान्तरणलगायत प्रस्ताव ध्वनिमतका आधारमा सर्वसम्मत पारित भएका छन् ।

अधिवेशनबाट पारित निर्णयले स्थानीय आवश्यकताअनुसार नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न , विकास निर्माणका काममा तीव्रता दिन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस