दाङ, १० माघ । त्रिभुवननगर जेसीजले घोराही चौघेरास्थित गोरक्ष सिद्ध रत्ननाथ मन्दिर चौघेरामा सरसफाई गरेको छ । त्रिभुवननगर जेसीजको आयोजनामा आज मन्दिर क्षेत्रको सरसफाईका साथै मन्दिर व्यवस्थापन समितिलाई सरसफाई सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।
त्रिभुवननगर जेसीजका कार्यबाहक अध्यक्ष कुलबहादुर वलीको अध्यक्षता एवं गोरक्ष पात्र देवता सिद्ध रत्ननाथ मठका प्रमुख सुरतनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि योगीले त्रिभुवननगर जेसीजले गरेका कार्य र युवाहरुको नेतृत्वमा विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठका सचिव हिरानाथ योगी, सहायक व्यवस्थापक योगी देवनाथ, दाङ महिला जेसीजका अध्यक्ष ममता विष्टलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिलाई त्रिभुवननगर जेसीजको तर्फबाट सरसफाई व्यवस्थापनका लागि ४ वटा डस्टविन, १५ वटा कुचो, ५ वटा फोहर उठाउने सामग्री समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा द लोटस ट्रेनिङ सेन्टरको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक भ्यू पुनमगरको स्वागत मन्तव्य तथा विमल खड्काको आस्थापाठबाट शुरु भएको सरसफाई कार्यक्रमको सहजीकरण महासचिव टंक रावत (अनन्त)ले गर्नुभएको थियो ।












