महेश बस्नेत
नारायणपुर, ३ पुस । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा संस्थागत विद्यालयका चालक र सहचालकहरुका लागि ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण सम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
साविक त्रिपुर क्षेत्रमा सञ्चालित निजी विद्यालयका चालक तथा सहचालकका लागि उक्त सचेतना कार्यक्रम सञ्चालन गरिएको संयोजक निर्मल न्यौपानेले जानकारी दिनुभएको छ । प्याब्सन दाङका निवर्तमान उपाध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता एवम् इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख देवराज ओलीको प्रमुख आतिथ्यतामा आयोजित उक्त सचेतना कार्यक्रममा त्रिपुर क्षेत्रका ५२ जना चालक र सहचालकलाई प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ओलीले विद्यालयहरुले बस सञ्चालन गर्दा विद्यार्थीहरुको चापलाई ख्याल गर्नुपर्ने बताउनुभयो । विद्यालयका बसहरुमा सिट क्षमताभन्दा धेरै विद्यार्थीहरु राख्ने गरिएकाले ट्राफिक नियमको पालना गरी सम्भावित दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउन आग्रह गर्नुभयो ।
कार्यक्रमका अर्का वक्ता प्याब्सनका केन्द्रीय सदस्य केशव थापाले चालकहरुले विद्यालयका सवारीसाधनहरु तीब्र गतिमा नचलाउन आग्रह गर्नुभयो । उहाँले दुर्घटना जुनसुकै स्थानमा जुनसुकै अवस्थामा हुनसक्ने भएकाले चालकहरु संयमित भएर बसहरु चलाउनुपर्ने बताउनुभयो ।प्याब्सन घोराहीका सल्लाहकार सूर्य बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्याब्सन घोराहीका सदस्य सन्दीप शाहले गर्नुभएको थियो । उक्त सचेतना कार्यक्रमको प्रशिक्षकमा अस्थायी ट्राफिक प्रहरी कार्यालय नारायणपुरका प्रमुख भूपेन्द्र प्रसाद गौली रहनुभएको थियो ।












