घोराही, २८ माघ ।
घोराही उपमहानगरपालिका १५ रतनपुरस्थित पर्ल एकेडेमीले आफ्नो वार्षिकोत्सब सोमबार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेगबहादुर थापाको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा विद्यालयले आफ्नो २१ औँ वार्षिकोत्सब सम्पन्न गरेको हो ।
२१औं वार्षिकोत्सब समारोहमा विद्यालयले विभिन्न कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो । उक्त अवसरमा विद्यार्थीहरूले सिर्जना गरेका परियोजना कार्यहरुको प्रदर्शनी, सांस्कृतिक तथा खेलकुदका प्रस्तुतिहरु राखेका थिए ।
वार्षिकोत्सब समारोहमा प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्द, सचिव आदिम केसी, प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरी, पूर्व विद्यार्थी डाक्टर सुधा केसी, अभिवावकहरु बिनिता खड्का, ओपेन्द्र नेपाली लगायतले विद्यालयको शैक्षिक उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक द्रोर्ण पोख्रेलले विद्यालयको शैक्षिक एवम् प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयकी शिक्षिका विमला रिजालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक पवन सुवेदीले गर्नुभएको थियो ।












