विमल योगी
घोराही, ४ फागुन । नेकपा एमालेको आयोजनामा भोली हुने बृहत जनसभाको तयारी पूरा भएको छ । सभाका लागि मञ्च व्यवस्थापन, स्वंयसेवक परिचालन, माईक तथा साउण्डसिस्टम व्यवस्थापन, प्रचारप्रसार, यातायात व्यवस्थापन लगायतका काम सम्पन्न भइसकेको छ ।
सम्माननीय प्रधानमन्त्री एवम् पार्टि अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जिल्ला समन्वय समितिको मञ्चमा हुने सभामा करिव पचास हजार जनताको सहभागिता हुने एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयो । जनसभा अघि घोराहीका चार ओटा क्षेत्रबाट बिभिन्न संस्कृति झल्कने झाँकी सहितको र्याली निकालिने एमाले दाङका उपाध्यक्ष तथा जनपरिचालन उपसमितिका संयोजक मनोहर बुढाथोकीले जानकारी दिनुभयो । त्यसका लागि पूर्वबाट आउने जनता ट्राफिक चोक, दक्षिणबाट आउने नेत्रलाल पार्क गुलरिया, उत्तरबाट आउने सभाहल र पश्चिमबाट आउनेलाई रतनपुर चोकमा जम्मा गरेर बृहत र्याली निकालिनेछ ।
दिउँसो १२ बजे र्याली दामोदर चोकमा एकीकृत भएर सहिद गेट हुँदै सभास्थलमा पुग्नेछ । सभामा उपस्थित हुनका लागि पार्टीको वडा कमिटी मार्फत प्रत्येक घरघरमा निमन्त्रणा समेत गरिसकेको र सयौ गाडी माफर्त हजारौ जनता सभामा सहभागी हुने एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिनुभएको छ । सभालाई व्यवस्थित बनाउन करिव ३ सय जना स्वयंसेवक परिचालन गरिने युवा स्वयंसेवक परिचालन उपसमितिका संयोजक सुदन केसीले जानकारी दिनुभयो ।












