अर्घाखाँची, ९ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक बर्षको बजेटमा साना आयोजनालाई कटौती गर्नेगरी बजेट निर्माण गर्ने बताउनु भएको छ ।

नेकपा एमालेले शितगंगा नगरपालिका-२ सितापुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले साना योजनालाई निरुत्साहित गर्दै बजेट निर्माण गर्ने तयारी सरकारले गरेको बताउनु भएको हो ।’साना आयोजनालाई निरुत्साहित गर्नेगरी तयारी गर्दैछौं’ उहाँले भन्नुभयो ‘उपलब्धि देखिने आयोजना सरकारको प्राथमिकतामा पर्छन ।’

प्रदेश सरकारले मझौला खालका आयोजनालाई सम्पन्न गर्नेगरी बजेटमा सम्बोधन गर्ने विश्वास दिलाउनु भयो । प्रदेश स्थापना भएपछि विकास निर्माणको कामले गति लिएको बताउदै उहाँले यी उपलब्धि देख्न नसक्नेहरुले गलत भास्य खडा गर्न खोजेको बताउनु भयो ।

‘संघीयताले विकासको ढोका खोलेको छ । देख्न, हेर्न र बुझ्न सक्नुहुन्छ’ उहाँले भन्नुभयो ‘म सप्रमाण भन्न सक्छु जता फर्केर हेर्दा पनि सञ्चालन भइरहेका आयोजना प्रदेशकै हुन । प्रदेशको काम छैन भनेर गलत भास्य खडा गरिदैछ । किमार्थ त्यस्तो होइन ।’

शितगंगा नगरपालिका भूगोलको रुपमा ठुलो हुँदा सेवा प्रवाहमा कठिनाइ भएको र समस्या समाधानका लागि सेवा केन्द्र स्थापनाका लागि पहल गर्ने बताउनुभयो ।’समस्याको बारेमा जानकारी छ । आशा भरोसालाई सकेसम्म सम्बोधन गर्नेछौं’ उहाँले भन्नुभयो ‘प्रदेश सरकारले हरेक क्षेत्रलाई सम्बोधन गरेको छ ।’

यस्तै उहाँले राजनीतिक अस्थिरताले समस्या सृजना भएको र अहिले राजनीतिक स्थायित्व कायम भएकाले विकास निर्माणको कामले गति लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस