घोराही, ५ जेठ । घोराहीमा संगीत अभ्यास केन्द्र सञ्चालनमा आएको छ । ओम संगीत कला केन्द्र लमहीले संगीत अभ्यास सञ्चालनमा ल्याएको हो । संगीत अभ्यास केन्द्रको शनिवार उद्घाटन गरिएको छ ।
संगीत क्षेत्रप्रति इच्छुकहरुलाई संगीत ज्ञान प्रदान गर्न केन्द्र सञ्चालनमा ल्याइएको केन्द्रका अध्यक्ष राजेश क्षेत्रीले जानकारी दिनुभयो । ओम संगीत कला केन्द्रका अध्यक्ष  क्षेत्रीको अध्यक्षता तथा बरिष्ठ संगीतकार गोविन्दराज श्रेष्ठको प्रमुख आतिथ्य र वरिष्ठ कलाकार मथुराप्रसाद श्रेष्ठ तथा युवा नेता वलिभद्र रानाको विशिष्ट आतिथ्यमा भएको संगित अभ्यास केन्द्र उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले कुनैपनि ब्यक्ति संगीतबाट टाढा नहुने बताउनुभयो । संगितको ज्ञान बाँड्ने थलोको अभाव झेलिरहेको दाङमा यो अभ्यास केन्द्र संगितकर्मीहरुका लागि ठूलो पाठशालाका रुपमा रहने उहाँको भनाइ थियो ।
कार्यक्रमका विशिष्ट अतिथि गायक मथुराप्रसाद श्रेष्ठले संगीतको उन्नयनका लागि सञ्चालनमा ल्याइएको संगीत अभ्यास केन्द्र संगीत पाठशाला मात्रै नभई कला संस्कृति संरक्षणको केन्द्रका रुपमा समेत रहने बताउनुभयो । संगीत कर्मका लागि संगीत ज्ञान अनिवार्य रहेको भन्दै ज्ञान विनाको संगीत कर्म सफल नहुने बताउनुभयो ।
गायिका कमला लम्साल भारतीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानका सल्लाहाकार गिरिराज सुवेदी, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानका अध्यक्ष प्रेम शर्मा, पत्रकार तथा गायक देवेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
ओम संगीत कला केन्द्रले विभिन्न किसिमका बाजाहरु सिकाउनुका साथै गायकीसम्बन्धी पनि शिक्षा दिनेछ । यसैगरी कला केन्द्रले म्युजिक भिडियो, डकुमेन्ट्री तथा जिङ्गल पनि तयार गर्ने केन्द्रका पवन रिजालले जानकारी गराउनुभएको थियो  ।
कला केन्द्रमा विवाह तथा कुनै पनि पार्टी उत्सवका लागि पञ्चे बाजाका साथै विभिन्न बाजाहरु पनि उपलब्ध गराउन सकिने जनाइएको छ ।  कार्यक्रमको सहजीकरण कला केन्द्रका राजेन्द्र दाहालले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस