घोराही, १२ जेठ । वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले साहित्य सामाज रुपान्तरणको संवाहक रहेको बताउनुभएको छ । प्रगतिशील लेखक संघ दाङको दसौँ अधिवेशनका अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै शर्माले साहित्यको विकासले सकारात्मक चिन्तनको विकास गर्ने भएकाले साहित्य सामाजिक रुपान्तरणको कडीको रुपमा रहेको बताउनुभयो ।
उपभोक्तावादी संस्कारको विकासले नेपाली समाज सशक्त बन्न नसकेको कार्यक्रमका विशिष्ट अतिथि प्रगतिशील लेखक संघ नेपालका पूर्व अध्यक्ष प्रा.डा. अमर गिरीले बताउनुभयो । उपभोक्तावादको विकासले सिद्धान्त, दर्शन, विचार सन्तुलन हराउँदै गइरहेकाले समाज सन्तुलनका लागि साहित्यिक कलमहरु मोडिनुपर्ने उहाँको धारणा थियो । मुलुक परिवर्तनका लागि चलेको ठूला–ठूला आन्दोलनलाई सार्थक बनाउने भूमिका साहित्यले पनि खेलेकाले अब उपभोक्तावादको अन्त्यका लागि साहित्यिक रचनाहरु कोर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रलेस दाङका अध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एवं प्रलेसका पूर्व केन्द्रीय अध्यक्ष अमर गिरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रलेस दाङका सह–सचिव नविन अभिलाषीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव खगेश्वर भण्डारीले गर्नुभएको थियो ।
उक्त अवसरमा प्रलेस दाङको मुखपत्र बहिङ्गाको विमोचन समेत गरिएको थियो । साथै संघले विभिन्न अग्रज साहित्यकारहरुलाई समेत सम्मान गरेको छ । अमर गिरी, भुवन देवकोटा, पुरुषोत्तम खनाल, दामोदर पोख्रेल, यज्ञबहादुर डाँगी, पद्मप्रसाद शर्मा, शेषमणि शर्मा घिमिरे, भक्तिराम ज्ञवाली, हिरामणि दुःखी, हिरा डिसी र सुन्दर गौतमलाई सम्मान गरिएको थियो ।
प्रलेस दाङको अध्यक्षमा देवकोटा
प्रगतिशील लेखक संघ दाङको अध्यक्षमा साहित्यकार भुवन देवकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । संघको दसौँ अधिवेशनले देवकोटाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा खगेश्वर भण्डारी, सचिवमा छविलाल कोपिला, सह–सचिवमा दीपा धिताल र कोषाध्यक्षमा शालिकराम रजौरे रहनुभएको छ । त्यस्तै सदस्यहरुमा श्याम चिस, डम्वर बुढा, शारदा शर्मा, शारदा धिताल, दुर्गा विक, जनक भण्डारी, मनोन थापा मगर र डिल्ली बस्नेत (संगीत ) रहनुभएको छ ।












