घोराही, १२ जेठ । वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले साहित्य सामाज रुपान्तरणको संवाहक रहेको बताउनुभएको छ । प्रगतिशील लेखक संघ दाङको दसौँ अधिवेशनका अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै शर्माले साहित्यको विकासले सकारात्मक चिन्तनको विकास गर्ने भएकाले साहित्य सामाजिक रुपान्तरणको कडीको रुपमा रहेको बताउनुभयो ।

उपभोक्तावादी संस्कारको विकासले नेपाली समाज सशक्त बन्न नसकेको कार्यक्रमका विशिष्ट अतिथि प्रगतिशील लेखक संघ नेपालका पूर्व अध्यक्ष प्रा.डा. अमर गिरीले बताउनुभयो । उपभोक्तावादको विकासले सिद्धान्त, दर्शन, विचार सन्तुलन हराउँदै गइरहेकाले समाज सन्तुलनका लागि साहित्यिक कलमहरु मोडिनुपर्ने उहाँको धारणा थियो । मुलुक परिवर्तनका लागि चलेको ठूला–ठूला आन्दोलनलाई सार्थक बनाउने भूमिका साहित्यले पनि खेलेकाले अब उपभोक्तावादको अन्त्यका लागि साहित्यिक रचनाहरु कोर्नुपर्ने उहाँले बताउनुभयो ।प्रलेस दाङका अध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एवं प्रलेसका पूर्व केन्द्रीय अध्यक्ष अमर गिरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रलेस दाङका सह–सचिव नविन अभिलाषीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव खगेश्वर भण्डारीले गर्नुभएको थियो ।

उक्त अवसरमा प्रलेस दाङको मुखपत्र बहिङ्गाको विमोचन समेत गरिएको थियो । साथै संघले विभिन्न अग्रज साहित्यकारहरुलाई समेत सम्मान गरेको छ । अमर गिरी, भुवन देवकोटा, पुरुषोत्तम खनाल, दामोदर पोख्रेल, यज्ञबहादुर डाँगी, पद्मप्रसाद शर्मा, शेषमणि शर्मा घिमिरे, भक्तिराम ज्ञवाली, हिरामणि दुःखी, हिरा डिसी र सुन्दर गौतमलाई सम्मान गरिएको थियो ।

प्रलेस दाङको अध्यक्षमा देवकोटा
प्रगतिशील लेखक संघ दाङको अध्यक्षमा साहित्यकार भुवन देवकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । संघको दसौँ अधिवेशनले देवकोटाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा खगेश्वर भण्डारी, सचिवमा छविलाल कोपिला, सह–सचिवमा दीपा धिताल र कोषाध्यक्षमा शालिकराम रजौरे रहनुभएको छ । त्यस्तै सदस्यहरुमा श्याम चिस, डम्वर बुढा, शारदा शर्मा, शारदा धिताल, दुर्गा विक, जनक भण्डारी, मनोन थापा मगर र डिल्ली बस्नेत (संगीत ) रहनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस