दाङ, २० कार्तिक । सभामुख कृष्णबहादुर महराले कला र संस्कृति राष्ट्र र समुदायको पहिचान भएको बताउँदै यस्ता मौलिक कला संस्कृतिको संरक्षण गरेर जानुपर्ने बताउनुभएकाे छ । दलित कला संस्कृति प्रवर्द्धन तथा सामुदायिक विकास केन्द्र दाङले घोराहीमा गरेको दशैं, तिहार, छठको अवसरको शुभकामना आदान प्रदान तथा सोरठी, देउसी भैलो कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले कला संस्कृति सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु पर्ने बताउनुभएको हो ।

‘कला र संस्कृतिमा हामी धनी छौँ । यसको संरक्षण पनि त्यतिकै आवश्यक छ ’ सभामुख महराले भन्नुभयो ‘त्यसको लागि सबै तहका सरकारले ध्यान दिनुपर्छ ।’ देउसी भैलो खेल्न सुरु भएसँगै तिहार आएको आभास हुने बताउँदै उहाँले यसले तिहारमा थप रौनकता ल्याएको बताउनुभयो ।

दलित कला संस्कृति प्रवर्द्धन तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष मोहन परियाले संस्थाका माध्यमबाट आफूहरुले कला संस्कृति संरक्षणमा जोड दिएको बताउनुभयो । संस्थाका संरक्षक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले समाजमा लोपन्मुख हुँदै गएको कला संस्कृतिको संरक्षणमा संस्थाले काम गर्ने बताउनुभयो । हाम्रा कला संस्कृति धेरै छन् तर ति कला संस्कृतिको संरक्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा छन’ उहाँले भन्नुभयो ‘अव ती कला संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्त्ररण गरेर जानु पर्छ ।’

उदघाटन कार्यक्रममा  नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी, प्रतिनिधिसभा सदस्य रेखा शर्मा, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रदेश सांसद अमरबहादुर डाँगी, जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, घोराही उपमहानगरपालिका उपप्रमुख सिता न्यौपाने, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा संस्थाको अगुवामा खाद्रे समूहले प्रर्दशन गरेको सोरठी नाचमा सभामुख महरासँगै सांसदहरु र स्थानीय तहका पदाधिकारी समेत नाचेका थिए । संस्थाका अध्यक्ष परियारले देउसी भैलोको औपचारिक उद्घाटन मंगलवार भए पनि बुधवारदेखि भैलो खेलिने बताउनुभयो । सोरेठी भैलोको लागि संस्थाले एक सातासम्म प्रशिक्षण दिएर कलाकारको समूह निर्माण गरेको छ । संस्थाले घोराही, तुलसीपुर र लमहीमा भैलो खेल्ने कार्यक्रम तय गरेको छ । संस्थाका अध्यक्ष परियारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासचिव दीपक नेपालीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव सीमा नेपालीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस