१३ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बन्न लागेको नेपाल कम्युनिस्ट पार्टीमा ५ तहका कार्यकारी कमिटीहरु रहने भएका छन् । संघीयतामा मुलुकले अभ्यास गरेका प्रशासनिक संरचनाहरुलाई आधार मानेर कमिटी निर्माण गर्ने गरी विधान मस्यौदा कार्यदलले छलफल अघि बढाएको छ ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकमा यसबारे छलफल भए पनि कुन तहमा कति सदस्यीय कमिटी बन्छन् भन्नेबारे विषय प्रवेश गरेको छैन । केन्द्र, प्रदेश, जिल्ला, स्थानीय तह र वडास्तरीय पार्टी कमिटी बन्ने सैद्धान्तिक विषयमात्र छलफलमा आएको नेताहरुले बताएका छन् ।
केन्द्रमा सबैभन्दा उच्चस्तरमा पदाधिकारी राख्ने कि स्थायी कमिटी गठनमात्र राख्ने भन्ने टुंगो लागेको छैन । त्यस्तै पोलिटब्युरो र केन्द्रीय कमिटी केन्द्रमा रहनेछन् । प्रदेशमा प्रदेश कमिटी र सचिवालय रहनेछ भने जिल्ला, पालिका र वडामा पनि सोही अनुसारका कमिटी बन्नेछन् ।
स्थानीय तहअन्तर्गत महानगर, उपमहानगर, नगर र गाउँपालिका कमिटीहरुको आकार तय गर्ने जिम्मेवारी पनि यहि कार्यदललाई छ । महानगरका वडा र गाउँपालिकाका वडा कमिटीहरुको आकार र बरियताको निर्धारण पनि कार्यदलले नै गर्नेछ ।
कार्यदलको दोस्रो बैठकमा एक अर्काका दस्तावेजहरु आदान-प्रदान गर्ने र संगठनात्मक संरचनाहरुका बारेमा बुझ्ने काममात्र भएको कार्यदलका प्रवक्ता एमाले सचिव गोकर्ण विष्टले बताए । रामबहादुर थापा बादल संयोजकत्वको कार्यदलले सहमति भएका औपचारिक निर्णय सार्वजनिक गर्न विष्टलाई प्रवक्ता तोकेको हो ।
एमाले र माओवादीले एक अर्काका राजनीतिक तथा सांगठनिक प्रतिवेदनहरुका साथै बिधानहरु अध्ययनका लागि साटासाट गरेका छन् । त्यस्तै एमालेले पार्टी सञ्चालनका विधिबारे तय गरिएका नियमावली तथा निर्देशिकाहरु पनि माओवादी नेताहरुलाई अध्ययनका लागि दिएको छ ।
त्यस्तै एक अर्काका कमिटी, जनसंगठन र प्रतिष्ठानहरुको विवरण पनि बैठकमा आदान प्रदान भएको विष्टले बताए । एमालेको २३ सदस्यीय स्थायी कमिटी, ४५ सदस्यीय पोलिटव्यूरो र १८५ सदस्यीय केन्द्रीय कमिटीको विवरण माओवादीलाई दिइएको छ ।
त्यस्तै ३८ सदस्यीय केन्द्रीय सल्लाहकार परिष, २१ सदस्यीय केन्द्रीय अनुशासन आयोग, ७ सदस्यीय केन्द्रीय र २१ सदस्यीय केन्द्रीय लेखापरीक्षण आयोगको विवरण पनि माओवादीलाई दिइएको छ । एमालेले आफ्ना पार्टी सदस्यको कम्प्युटर प्रणालीको विवरण समेत तयार पारेको छ ।
माओवादीले भने ४ हजार सदस्यीय केन्द्रीय कमिटीको मौखिक विवरण दिए पनि सो कमिटीमा रहेका व्यक्तिहरुको नाम प्राप्त सकेको छैन । महाधिवेशन आयोजक समितिका रुपमा ४ हजार सदस्यीय कमिटी बनाइए पनि पछि नाम थपिएका कारण पूरा विवरण नरहेको बैठकमा वर्षमान पुनले बि्रफ गरेका थिए ।
एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र उपमहासचिव बिष्णु पौडेलले एमालेको संगठनात्मक ढाँचा र यसको परिचालनका बिधिहरुको बारेमा जानकारी गराएका थिए । ‘एमालेको पार्टी सन्चालन प्रक्रिया र कमिटी व्यवस्थापन ब्युरोक्रेटिक खालको रहेछ, सबै सदस्यहरुको तीन पुस्ते विवरण अद्यावधिक हुँदो रहेछ, यो राम्रो अभ्यास हो’ माओवादीका एक नेताले भने ।
यो कार्यदलले दुवै पार्टीका दस्तावेज र संगठनात्मक विवरण अध्ययन गरि सहमतिका आधारमा अन्तरिम विधान तयार पार्ने विष्टले बताए । सोही बिधान अनुसार एकीकृत पार्टीको संगठन सन्चालन हुनेछ । केन्द्रदेखि तलसम्म कुन मोडलमा कमिटीहरु समायोजन हुने भन्ने टुंगो नलागेको उनले बताए ।
जनसंगठनहरुको दस्तावेज र संगठन सञ्चालन बिधिहरु आदान प्रदान हुन बाँकी रहेको छ । एमाले र माओवादीका अधिकांश जनवर्गीय संगठनहरु उस्तै रहे पनि माथिदेखि तलसम्मका संरचना अध्ययन हुन बाँकी रहेको विष्टले बताए ।
माओवादीले विभिन्न शहीद प्रतिष्ठानहरु सञ्चालन गरिरहेको छ भने एमालेले विभिन्न नेताका नाममा प्रतिष्ठान सञ्चालन गरेको छ । ती प्रतिष्ठानहरु कसरी समायोजन गर्ने भन्नेमा छलफल हुन बाँकी छ । यी बाहेक माओवादीका पूर्व जनमुक्ति सेना र बेपत्ता तथा घाइते अपांगहका संगठन छन्, तीनका बारेमा के गर्ने भन्ने टुंगो लागेको छैन ।
फागुन २५ भित्र कार्यदलले विधान मस्यौदा र संगठनात्मक स्वरुपबारे एकसरो काम सक्ने गरी कार्यतालिका बनाउन लागिएको प्रवक्ता विष्टलेब बताए । यसका लागि अर्को बैठक फागुन १५ गते एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा तय भएको छ ।
कार्यदलमा एमालेबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्टसहित सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य छन् । माओवादीबाट संयोजक बादलसहित गिरिराजमणि पोखरेल, वर्षमान पुन, मात्रिका यादव सदस्य छन् ।
दुई पार्टीवीच राजनीतिक दस्ताजेज निर्माण गर्ने कार्यदलको संयोजक माधव नेपाल छन् भने भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र रघुजी पन्त एमाबाट छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् ।