दाङ, फागुन २३ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ लाई मिनि नेपालका रुपमा विकास गर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि बबई नदी किनारमा शुरु गरेको ‘मेयर कप बिच भलिबल प्रतियोगिता’ उद्घाटन गर्दै पोख्रेलले प्रदेशलाई नमूना बनाउने बताउनुभएको हो ।

प्रदेशमा स्रोतसाधन, भूगोल, विशेषता र पर्यटन विकासका हिसावले धेरै सम्भावना रहेको उल्लेख गर्दै उहाँले प्रदेशमा समुन्नत विकास गरेर मिनी नेपालका रुपमा उभ्याउने दावी गर्नुभयो । यस प्रदेशलाई देशकै नमूना प्रदेश बनाउने योजना रहेको जानकारी दिंदै उहाँले विकासको मोडेल कस्तो हुन्छ भन्ने कुरा सिक्न सकिने गरी नमूना प्रदेश बनाउने बताउनुभयो ।

प्रदेश ५ भौगोलिकरुपमा नै मिनि नेपाल रहेको उहाँले बताउनुभयो । हिमाल, पहाड र तराई सबै भूगोलका जिल्लाहरु रहेकाले सबै बिशेषतालाई विकाससँग जोडेर नमूना बनाउन सकिने धारणा उहाँले व्यक्त गर्नुभयो ।

अब प्रदेशसभामार्फत जनपक्षीय नीति बनाउने उहाँले बताउनुभयो । निर्वाचनका क्रममा जनतामाझ गरिएका प्रतिबद्धतालाई नीति बनाएर विकासमा जोड्ने पोख्रेलले बताउनुभयो । जनताका चाहना र आबश्यकता अनुसार नै नीति नियम बन्ने र सोही अनुसार काम गर्ने उहाँले बताउनुभयो । प्रदेशसभाले सबै जातजाती, भाषा, क्षेत्र, संस्कृती र सम्प्रदायका नागरिकका भावनाहरु सम्बोधन गरेर नीति नियम बनाउने पोख्रेलले बताउनुभयो ।

पोख्रेललाई दिनभर कार्यक्रम भ्याइनभ्याई भएको छ । तुलसीपुरमा मेयरकप बिच भलिबल प्रतियोगिताको उद्घाटन गरेपछि घोराहीमा एमालेको स्वागत सम्मान, कार्यालय प्रमुखहरुसँग छलफल, नेपाल संस्कृत विश्वविद्यालयको अभिनन्दन लगाएतका कार्यक्रममा उहाँ सहभागी हुनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस