घोराही, २७ चैत । घोराही उपमहानगरलाई वातावरणमैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजनामा मंगलबार घोराहीमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले नगरलाई प्रदूषणरहित गराउनुपर्नेमा जोड दिएका हुन् ।
उपमहानगरलाई सफा, स्वच्छ तथा वातावरणमैत्री बनाउन फोहर व्यवस्थापन, बजार व्यवस्थापनमा ध्यान दिन जनप्रतिनिधिहरुलाई सुझाव दिइएको थियो । अहिले पनि जथाभावि फोहर फाल्ने, पार्किङ अव्यवस्थित गर्ने, सिमेन्ट कारखानाजस्ता उद्योगहरुले प्रदुषण थप बढाउँदै गएकोप्रति चासो व्यक्त गर्दै उनीहरुले उपमहानगरपालिका थप सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रका प्रदीप मजगैयाँले फोहर व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन निजी क्षेत्रलाई जिम्मा दिनुपर्ने सुझाव दिनुभयो । उपमहानगर आफैले पनि फोहर व्यवस्थापनमा ठूलो लगानी गरिरहेको पाइएको छ तर लगानी अनुसारको व्यवस्थापन हुन नसकेको भन्दै निजी क्षेत्रलाई पनि जिम्मा लगाउन सके फोहरबाट मोहर बनाउन सकिनेमा जोड दिनुभयो ।
सो अवसरमा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले नक्सा पास नगरेका घर र दर्ता नभएका व्यवसायीहरुले कर छल्ने काम गरेको भन्दै त्यसले फोहर व्यवस्थापनमा समेत असर परेको बताउनुभयो । अझै पनि ३० प्रतिशत व्यवसाय विना दर्ता सञ्चालन गरिएको समेत जानकारी दिनुभयो ।
यसैगरी पत्रकार सुदर्सन रिजालले उपमहानगरले विपद् व्यवस्थापनका क्षेत्रमा पूर्व तयारीका काममा ध्यान दिन उपमहानगरलाई सुझाव दिनुभयो । सो अवसरमा पत्रकार महासंघ दाडका अध्यक्ष सविन प्रियाशनले उपमहानगरले वातावरणीय प्रदुषण रोक्न र विपद् आउन नदिन गरेका प्रयास सकारात्मक रहेको भन्दै थप प्रभावकारी बनाउन नगर प्रहरीको व्यवस्था तत्काल गर्न सुझाव दिनुभयो ।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले उपमहानगरपालिकाले थुप्रै सकारात्मक प्रयासमा फितलोपन देखिएको भन्दै कडाइकासाथ लाग्न आग्रह गर्नुभयो ।
वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक तथा वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी उपमहानगर प्रमुख नरुलाल चौधरीले फोहर व्यवस्थापन, प्रदुषण नियन्त्रण र विपतका पूर्व तयारीहरुमा उपमहानगरपालिकाले काम थालिसकेको जानकारी दिनुभयो ।
उहाँले घोराहीको प्रदुषणको मात्रा थाहा पाउन अत्याधुनिक मेसिन जडान गरिसकेकोले त्यसबाट आउने रिपोर्टका आधारमा सिमेन्ट कारखानालगायतमा कडाइकासाथ लाग्ने बताउनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका शाखा अधिकृत सुबोध रेग्मीले उपमहानगरले फोहर व्यवस्थापन, विपद् व्यवस्थापनलगायत वातावरणीय कार्यमा खर्चिएको बजेट, कार्यक्रम, स्रोत साधन र जनशक्तिका विषयमा जानकारी दिनुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस