घोराही, ७ वैशाख । उत्तरतिर आँखा उपचार केन्द्र, दक्षिणतिर हेमोडायलाइसिस कक्ष दुवै कक्षको बीचमा टिनले बारेको एक कोठे टहरो । कवार्ड स्थलजस्तै देखिने त्यही टहराभित्र राप्ती उपक्षेत्रीय अस्पतालका विरामीका लागि खाना पाक्छ । जहाँ खाना पाक्ने चुल्हो र जुठा भाँडा धुने रछ्यान एकै ठाउँमा छन् । स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएका बिरामीलाई त्यही फोहर भान्साका कारण बिरामीमा थप संक्रमणको खतरा देखिएको छ ।

भान्सा हो कि रछ्यान छुट्याउनै सकिएन सरसफाई अभियन्ता एवं घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले भन्नुभयो,– यो भान्साले बिरामीलाई थप बिरामी बनाउने खतरा छ, यस्तो भान्सा तत्काल सुधार हुनुपर्छ । उहाँले सन्तुलित आहार बनाउने ठाउँ हेर्दा अस्पतालले बिरामीलाई गर्ने व्यवहार उदाङ्गिएको बताउनुभयो ।

आफै त टिनले बारेको सानो टहरो, त्यहीभित्र भान्सेको सुत्ने एउटा खाटसहितको बास छ । थोरै बचेको ठाउँमा दाँयातिर ढुंगे चुल्हो र बाँयातिर भाँडा धुने रछ्यान । रछ्यानमा जुठाभाँडा असरल्ल छाडिँदा झिंगा भन्किने र छेउँमै धोएर राखिएका भाँडामासमेत फोहर परेको प्रष्टै देखिन्थ्यो ।

बिरामीको भान्सा बेहाल देखेपछि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले भन्नुभयो,– ‘अस्पतालले बिरामीको स्वास्थ्यमा थप खेलवाड गरेको पाइयो ।’ भान्सामा हदैसम्मको लापरवाही पाइएको भन्दै सके भान्सा परिवर्तन नसके भएकै भान्साको सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।

भान्सा र रछ्यानमात्रै होइन खानेपानीमा समेत लापरवाही गरेको पाइएको छ । बिरामीका भान्से चिन्कु चौधरीले सिधै ट्याङकीको पानी भातभान्सामा प्रयोग गरेको पाइएको छ । हेमोडायलासिस कक्षनजिक रहेको ट्याङ्कीबाट सिधै भान्सामा प्रयोग गरिएको खानेपानी सरसफाई तथा स्वच्छता पत्रकार मञ्चका जिल्ला अध्यक्ष गोविन्द खड्काले बताउनुभयो । भान्सामा दाउरा बालेर कोठा नै कालो छ सरसफाई अभियन्ता खड्काले प्रश्न गर्नुभयो,– ‘यहाँको पानी, खाना कति शुद्ध होला ?’सरसफाई नभएपछि अस्पतालका बिरामीहरुले भान्साको खाना छाडेर बाहिर होटलबाट किनेर खाने गरेका छन् । बिरामीलाई जाउलो चाहिन्छ भान्साबाट अर्कै खाना आउँछ दंगीशरण गाउँपालिकाका ६८ वर्षीय रतनलाल खड्काले भन्नुभयो,– ‘एक छाक धौ धौ खाएँ त्यसपछि होटेलबाटै किनेर खाइरहेको छु ।’ उहाँले भान्साबाट ल्याएको खाना पचाउनै नसकेपछि बाहिरबाट ल्याएको बताउनुभयो ।

तर भान्सा ठेक्का लिएका राजन निर्माण सेवाका ठेकेदार टीकाबहादुर वलीले खानामा शुद्धतामा कमी नआएको दावी गर्नुभयो । ठेकेदारकै भर परेर अस्पताल प्रशासनले पनि बिरामीले पाउने खानाको निगरानी अहिलेसम्म गरेको छैन । शाखा अधिकृत खड्ग घर्तीले बिरामी भान्सा, त्यहाँको सरसफाई र खानाको बारेमा खासै जानकारी नपाएको बताउनुभयो । उहाँले नयाँ भवन बनाउँदा पुरानो भान्सा भत्किएको र बाध्यताबस काम चलाउ गरिएको बताउनुभयो ।

शुक्रवार वासफोरमसहित अनुगमनमा अस्पताल पुग्नु भएका घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बिरामी भान्सा घरको विकल्प खोज्न र सरसफाईमा ध्यान दिन निर्देशन दिनुभयो ।

खानाका लागि वार्षिक २६ लाख
यसैबीच भान्सा सञ्चालन र बिरामीलाई खाना खुवाउन राप्ती उपक्षेत्रीय अस्पतालले राजन निर्माण सेवालाई वार्षिक २६ लाखको ठेक्का दिएको छ । ठेकेदार वलीले दैनिक ३० देखि ६० जना खाना खुवाएको जानकारी दिनुभयो । एक बिरामी कुरुवाले भनिन,– ‘अण्डा, दूध केही आउँदैन, आफै होटेलबाट किनेर बिरामीलाई खुवाउँछु ।

वास पत्रकार फोरमको अनुगमन
यसैबीच खानेपानी तथा सरसफाई स्वच्छता पत्रकार मञ्च वास फोरमले शुक्रवार राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको सरसफाई अवस्थाको अनुगमन गरेको छ । अनुगमनका क्रममा अस्पतालका इमरजेन्सी, जनरल वार्ड, प्रसूति वार्डबाट निस्किएका फोहर यत्रतत्र फालिएको पाइएको थियो । प्रयोगशाला भवननजिकै रहेको सेफ्टी ट्याङ्की लिक भएर दिसापिसाव छताछुल्ल भएको पाइएको वास फोरमले जनाएको छ । त्यस्तै सुत्केरी वार्ड नजिकै रगतसहितका फोहर सामग्री थुपारिएको पाइएको थियो । अस्पतालका चर्पीमा पनि पानीको व्यवस्था नगरिएको पाइएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस