घोराही, १७ असार । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले वर्तमान समयमा युवाहरु नयाँ एजेण्डाका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनका लागि युवाहरुको महत्वपूर्ण योगदान भए पनि मुलकमा भएको राजनीतिक परिवर्तन पश्चात् युवाहरु निकै निस्क्रिय भएको बताउँदै अब मुलुकले युवाहरुको भूमिका खोजेको बताउनुभयो ।

युवा कार्य नेपालले आज घोराहीमा आयोजना गरेको ‘स्थानीय विकासमा युवा सहभागिता, हाम्रो चासो’ विषयक अन्तक्र्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चौधरीले युवाहरुलाई सत्ताको विरोध गर्न मात्र सिकाइएको बताउँदै अब युवाहरु सिर्जनात्मक काममा बढी क्रियाशील हुन जरुरी रहेको धारणा राख्नुभयो । सधैँ कसैको विरोध र समर्थनमा लागिरहनुभन्दा पनि व्यावसायिक सोचका साथ रोजगारी सिर्जना गर्ने गरी युवाहरु अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो । नेपालमा बास्तविक गरिबी भन्दा पनि मानसिक रुपमा गरिबी रहिरहेको हुँदा प्रगति हुन नसकेको बताउँदै चौधरीले नेपाल धनी जनता भएको गरिब देश भएको टिप्पणी गर्नुभयो ।युवा विना विकासका हरेक कार्यहरु चुनौतिपूर्ण र दिगो हुन नसक्ने बताउँदै चौधरीले युवाहरुलाई उपमहानगरका हरेक कार्यमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । युवाहरुलाई रोजगार दिनेभन्दा पनि युवाहरुबाट रोजगारी सिर्जना गर्ने अवस्था ल्याउन आफू अग्रसर रहेको उहाँले बताउनुभयो । नगरको योजना पुस्तक हेरेर योजना माग्ने भन्दा पनि नयाँ योजना ल्याएर बजेट माग गर्न युवाहरुलाई उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले आजका बालबालिका भोलिका देशका आधार भएको बताउँदै सडक बालबालिका व्यवस्थापनका लागि उपमहानगरले विशेष योजना ल्याउन लागेको बताउनुभयो । उपमहानगरको बजेट युवामैत्री भएको बताउँदै उहाँले युवाहरु अब उत्पादनमूलक कार्यमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस दाङका पूर्व सभापति प्रवीण शर्माले युवाहरु सक्रिय हुन नसकेको स्वीकार्दै उपमहानगरपालिकाले पनि उनीहरुसँग आवश्यक छलफल नगरेकोमा गुनासो गर्नुभयो । देशमा यति ठूलो परिवर्तन ल्याउन भूमिका खेलेका युवाहरुका लागि ठोस कार्यक्रम नआएको भन्दै उहाँले युवाहरुलाई विदेश पलायन र विकृतिबाट रोक्न युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । युवाहरुसँगको सहकार्यमा दीर्घकालीन योजना बनाउन समेत उहाँले सुझाव दिनुभयो ।

कार्यक्रमका सहभागीहरुले शिक्षालाई निःशुल्क, प्राविधिक र व्यवसायीमुखी बनाउन उपमहानगरपालिकाले बजेट छुट्याउनुपर्ने बताएका थिए । साथै शिक्षा क्षेत्रमा भएका अनुगमनका प्रतिवेदनहरु कार्यान्वयन गर्र्न, सूचना र संयन्त्रको अभावलाई तत्काल पूर्ति गर्न, सीपमूलक तालिमहरु गर्दा सार्वजनिक सूचना गरी उपयुक्त संयन्त्र निर्माण गर्न जोड दिएका थिए ।

कार्यक्रममा नेविसंघ दाङका अध्यक्ष राजकुमार धिताल, अखिल क्रान्तिकारी दाङका अध्यक्ष सन्तोष पोख्रेल, कानून व्यवसायी गोमा महराल, व्यवसायी गोपाल पौडेल, पत्रकार दुर्गालाल केसी, नरेन्द्र केसी, किरण गौतमलगायतले घोराहीलाई स्मार्ट सिटीको रुपमा विकास गर्न युवाहरुसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण युवा कार्य नेपालका अध्यक्ष लक्ष्मी निरौलाले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस