बुटवल, २५ साउन । चाइना रेलवे इन्टरनेसनल गु्रपको एक टोलीले मुख्यमन्त्री शंकर पोखरेलसँग मानोरेलको सम्भाव्यताबारे छलफल गरेको छ । टोलीले शुक्रवार मुख्यमन्त्री पोखरेलसँग भेट गरी रामग्राम—लुम्बिनी—कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन बारे छलफल गरेको हो ।

भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको सम्भावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण तयार भएको बताउनुभयो । उहाँले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले संभाव्यता अध्ययन, डिपीआर र निर्माण बारे छलफल गरी अघि बढ्न सकिने बताउनुभयो । साथै उहाँले मोनोरेलको संभाव्यता अध्ययन, डिपिआर, निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल,प्रदेश योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव वसन्त अधिकारीसंग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गर्नुभयो ।छलफलका क्रममा चिनियाँ टोलीले मोनोरेलको संभावनाबारे प्रस्तुति गरेको थियो । मुख्यमन्त्रीसँगको भेटमा चाइना रेलवे इन्टरनेसनल गु्रप अन्तर्गतको चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रवन्धक वाङ्ग यु श्वे, चाइना रेलवे इन्टरनेशनल गु्रपका अर्थशास्त्री याङ्ग क्वाङ्ग सहितको टोली सहभागी थियो । चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रवन्धक वाङ्ग यु श्वेले बुद्ध सर्किटमा मोनोरेलको संभाव्यता अध्ययन, डिपिआर र निर्माणको बारेमा प्रदेश सरकारसंग छलफल गर्दै अघि बढेर निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाउनुभयो ।

मुख्यमन्त्रीसंगको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन , वन तथा वातावरणमन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव तिर्थ ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, लुम्विनी विकास कोषका सदस्य सचिव विष्णु ढकाल र मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्थ्यो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस