दाङ, २४ भदाै । विश्वविद्यालय अनुदान आयोगको सहयोग र नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठ बिजौरी दाङ न्याय विभागको आयोजनामा आइतबारदेखि बिजौरीमा ‘पूर्वीय वाङ्मय अन्तर्गतको न्यायदर्शन र संस्कृत शिक्षण विधि’ विषयक दुईदिने कार्याशाला गोष्ठी शुरु भएको छ ।

गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले संस्कृत शिक्षालाई सरलीकरण गर्दै जानुपर्ने बताउनुभयो । कोइरालाले संस्कृतलाई जतिसक्दो सरल बनाएर मात्र यसको विकास गर्न सकिने धारणा राख्नुभयो ।उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले संस्कृतलाई कर्मकाण्डी भाषाका रुपमा मात्र व्याख्या गर्नु यसको अपमान हुने बताउनुभयो । कानूनी शासन पूर्वीय दर्शनबाट शुरु भएको बताउँदै उहाँले पश्चिमा देशले यसको अधिकतम् उपयोग गर्दा पनि नेपाली समाज यसबाट चुकेको बताउनुभयो । प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले पूर्वीय दर्शनले समाजको विविधतालाई एकै ठाउँमा जोड्ने काम गरेको बताउनुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै जनता विद्यापीठका प्राचार्य माधव अधिकारीले संस्कृत विश्वविद्यालय स्थापनाका लागि लामो त्याग र संघर्ष भएको स्मरण गराउनुभयो । उहाँले २०२४ चैत १ मा बिजौरीमा अन्तर्राष्ट्रिय संस्कृत विद्वत सम्मेलन गरी विश्वविद्यालय स्थापनाको काम शुरु भएको जानकारी दिनुभयो । जनता विद्यापीठमै विद्वत सम्मेलन भएकाले यस ठाउँको ऐतिहासिक महत्व भएको बताउनुभयो ।जनता विद्यापीठ न्याय विभाग प्रमुख भवानीप्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुरुषोत्तम आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण न्याय विभागका सदस्य शिव न्यौपानेले गर्नुभएको थियो । कार्यशालामा डा. विश्वनाथ धितालले ‘वर्तमान समयमा संस्कृत शिक्षाको विकास, अवसर र चुनौतिहरु’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि प्रा. डा. भागवतप्रसाद शर्माले टिप्पणी गर्नुभएको थियो । यसैगरी सहप्राध्यापक माधव अधिकारीले ‘न्याय दर्शनको न्यायलयीय तथा व्यवहारिक प्रयोग’ र डा. रघुनाथ नेपालले ‘सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसी र नेपाल संस्कृत विश्वविद्यालयको पाठ्यक्रमको तुलनात्मक विश्लेषण’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस