दाङ, १५ भदौ । पछिल्लो समय भैरहेका बलात्कार र यौन हिंसासम्बन्धी डरलाग्दा घटनाहरुले हरेक आमाबुवा र छोरीहरुलाई त्रसित बनाएको छ । यस्तो लाग्छ कि आजभोलि हरेक आमाहरु निद्रामा पनि झस्कन्छन् होला, छेउमै सुतेकी छोरीको अवस्था बुझ्न छामछुम् गर्न पुग्छन् होला । विद्यालय गएकी छोरी सकुशल घर नफर्कदासम्म बाआमाको मनमा चैन हुँदैन होला अनि केही किन्नुपरे छोरीलाई पठाउने कि आफै दौडने भन्ने अन्योलले आमाहरुलाई सताइरहन्छ होला ।
एकपछि अर्को थपिदै गएका झनझन त्रासपूर्ण घटनाले छोरीलाई घरबाट निस्कन पनि डराउनुपर्ने अवस्था आएको छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलाग्दै घरनजिकै बिस्कुट किन्न निस्किएकी पोखराकी १० बर्षीया श्रीया सुनारको बलात्कारपछि हत्या भयो । रक्सी र गाँजाका अम्मली छिमेकी २७ वर्षीय कुसुम पौडेलले श्रीयाको हत्या गरेको स्वीकारेका छन् । स्कुलबाट भोकाएर आएकी र ५ रुपयाँ बोकेर बिस्कुट किन्न गएकी ती अबोध बालिकालाई ढुंगैढुंगाले हानेर हत्या गरेको कुरा सुन्न पनि निकै ठूलो साहस गर्नुपर्छ ।
५० वर्षीय छिमेकी रामबाबु पासवानले सुतेको बेला एसिड प्रहार गरेपछि रौतहटकी १८ बर्षीया सम्झना दासको मृत्यु भयो । उनकी १५ वर्षीया बहिनी सुस्मिताको उपचार भैरहेको छ । दास दिदीबहिनी घरमै सुतिरहेको बेला पहिले नै खाटमुनि लुकी बसेका पासवानले राती एसिड प्रहार गरेको खुल्न आएको छ । सम्झनाले यौन प्रस्ताव स्वीकार नगर्दा एसिड खन्याएको पासवानले स्वीकार गरेका छन् ।
पूर्वी नवलपरासीकी २८ वर्षीया वसन्ती परियारमाथि ३७ बर्षीय छिमेकी विमल विकले एसिड र चक्कु प्रहार गरे । बजारबाट घर फर्कदै गरेकी वसन्तीलाई बाटोमै आक्रमण भएको थियो । केही दिनको फरकमा भएका यी घटनाले बालिका बचाउन कठिन भैरहेको संकेत गर्छन् । यी घटनाले गम्भीर प्रश्नहरु उब्जाएका छन् । छिमेकीबाटै यौनहिंसा र हत्याका घटना भएपछि अब आफ्ना बालिकाहरुलाई सुरक्षित राख्न के गर्ने भन्ने चिन्ता अभिभावकहरुलाई भएको छ । छोरीलाई घरबाट एक्लै बाहिर निस्कन दिने कि नदिने भन्ने अर्को प्रश्नले बाआमालाई सताएको छ ।
बलात्कार र त्यसपछि हत्या जस्तो जघन्य अपराधका घटना बढ्दै गर्दा पनि सरकारको गम्भिरता नदेखिदा नागरिक निराश भएका छन् । कञ्चनपुरकी निर्मला पन्तको हत्या घटनामा सरकारी उदासिनता दुःखद् छ । गृहमन्त्री रामबहादुर थापा पुँजीवादका कारण बलात्कार बढेको भन्छन् । सत्तासिन नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल सत्ता ढाल्ने खेल भन्छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली घटनाका दोषीमाथि खनिनुको सट्टा सरकारका गलत कामको बिरोध गर्नेसामु अरिंगाल जस्तै खनिन नेता कार्यकर्तालाई आग्रह गर्छन् ।
कञ्चनपुर घटनामा राज्यका महत्वपूर्ण निकायमा राम्रै पहुँच भएका मानिसको संलग्नता रहेको कुरामा शंका छैन अन्यथा अहिलेसम्म दोषी पत्ता लागिसक्थ्यो । दोषी जोसुकै भए पनि कार्वाही गर्ने दिशामा सरकारको गम्भिरता देखिएन, उल्टै प्रधानमन्त्री, मन्त्री र जिम्मेवार नेताहरु घटनालाई विषयान्तर गर्ने काममा लागिरहेका छन् । बुवाले अर्कै विहे गरेर बिरामी आमालाई अलपत्र छोडेपछि मावली घरको संरक्षणमा बस्दै आएकी र ५ रुपयाँ बोकेर बिस्कुट किन्न गएकी श्रीया सुनारको पुँजीवादसँग के सम्बन्ध छ ? दिनभर पढेर आएकी श्रीयाको भोक शायद ५ रुपयाँको बिस्कुटले मेट्दैनथ्यो होला । घरमा खाजा बनाइदिने अभिभावक नभएकै कारण उनी बिस्कुटको खोजीमा हिँडिन् र अन्तमा ज्यान गुमाइन् । ज्यान लिने दोषी पनि घरबार तंगभंग भएका गजँडी र जँड्याहा छन् । समाचारमा आए अनुसार उनी पनि कुनै पुँजीवादी वर्गमा पर्नेखालका देखिदैनन् ।
अस्पतालको खर्च तिर्न नसकेर १२ घण्टासम्म शव उठाउन नसक्ने सम्झना दासको परिवार र उनीमाथि एसिड प्रहार गर्ने छिमेकी रामबाबु पासवानमा पनि पुँजीवादी समाजको छायाँ देखिदैन । ठूलो बुवा मान्दै आएका पासवान त्यसरी क्रुर हुनुका पछाडि यौनजन्य मानसिक विकृति र दण्डहीनता जस्ता कुनै कारण हुन सक्लान् । दोषी नै पत्ता नलागेको कञ्चनपुर घटनाका बारेमा त बढी के नै भन्न सकियो र ? तर घटनाक्रम हेर्दा पोखराका गँजडी, रौतहटका पासवान या कञ्चनपुरका अज्ञात अपराधीले सरकार नै असफल बनाउन यत्रो हर्कत गरेको कुनै तथ्य छैन । पुँजीवादले उनीहरुलाई उक्साएको पनि तथ्यहरुले देखाउँदैनन् । बलात्कारपछि हत्या जस्तो गम्भीर घटनाको प्रमाण मेट्ने र अनुसन्धान बंग्याउने प्रहरी अधिकारीमाथि अरिंगाल बन्ने कि सरकारलाई दोषी उम्कन नदेऊ भनेर आग्रह गर्नेमाथि ? यसबारे सरकारले नै सोच्नुपर्ने कुरा हो ।
सरकारको यस्तो उदासिनताका बाबजुद् बालिका कसरी बचाउने त ? के सँधै छोरीलाई घरमै थुनेर राख्न सम्भव छ ? के छोरीलाई एक्लै घरबाट निस्कन नदिन सम्भव छ ? के हरेक छिमेकीलाई शंका गरेर बस्न सम्भव छ ? के छोरीलाई हरेक आफन्तको नजिक जान नदिन सम्भव छ ? सम्भवतः छैन । यस्तो बेला परिआउँदा आपतकालिन प्रतिकार गरेर आफूलाई बचाउन सकिने केही उपाय छ कि ? केही सजगता अपनाउँदा पनि बालिका सुरक्षित हुन सक्छन् कि ? घटना भएपछि उपचार खोज्नुभन्दा घटनाबाटै बच्न पो केही गर्न सकिन्छ कि ?
जानकारहरुका अनुसार बलात्कार एकैपटक हुँदैन । त्यसअघि विभिन्न चरणमा एकखालको संघर्ष हुन्छ । शुरुमा आँखा जुधाउने, मौखिकरुपमा जिस्काउने, संवेदनशील अंगहरु छुन खोज्ने र यति गर्दा पनि बालिका प्रतिकार गर्नसक्ने अवस्थामा नेखिएपछि मात्रै बलात्कार गर्ने गरेको देखिन्छ । त्यसैले शुरुकै चरणमा प्रतिकार गर्न सकेमा बलात्कारबाट बच्न सकिन्छ कि ? बालिकालाई जोखिममा पार्ने विषय अरु पनि छन् । बालहिंसा, बालविवाह, दुर्व्यवहार जस्ता घटना पनि बालिकालाई कमजोर बनाउने घटना हुन् । यी घटना रोक्न केही न केही पहल त गर्नैपर्छ । सरकारले केही गरेन भनेर गुनासो मात्रै गरेर भएन । यिनै कुराहरुको समाधान खोज्न यही असोज ५ र ६ गते पूर्वी नवलपरासीको देवचुलीमा बालिका सम्मेलन सम्पन्न भएको छ ।
गण्डकी प्रदेश र ५ नं. प्रदेशका २३ जिल्लाका बालिकाहरु एकठाउँ जुटेर बालिका बचाउने विभिन्न उपायको खोजी गरेका छन् । आफ्ना आवाजहरु सरकारसमक्ष पेश गरेका छन् । बालिकाहरुले विभिन्न सीपहरु सिकेर आत्मबल बढाउने काम गरेका छन् । बालिकाले बलात्कारीबाट उम्कन के के उपाय गर्ने भनेर आत्मरक्षा तालिम लिए, आफूलाई मनपर्ने चित्र कोरेर मनका भावनाहरु व्यक्त गरे, बालिकामाथि हुने हिंसा र बालविवाहका परिणामबारे नाटक देखाए । अन्तमा बालिकाका समस्याबारे भाषण गरेर मन्त्री र नेताहरुलाई सुनाए । आफ्ना आवाजलाई लिपिबद्ध गरी नौबुँदे घोषणापत्र पनि सरकारलाई हस्तान्तरण गरे ।
नेपालमै पहिलो जागृति बाल क्लव स्थापना भएको नवलपरासीको देवचुली नगरपालिकामा ‘बालिका सम्मेलन’ भएको थियो । यही नगरपालिकामा रहेको साविकको प्रगतिनगर गाविस नै २०७० पुस ९ गते नेपालको पहिलो बालमैत्री स्थानीय निकाय घोषणा भएको थियो । अहिलेको देवचुली नगरपालिका पनि देशको दोस्रो बालमैत्री स्थानीय तह घोषणा भैसकेको छ । पहिलो बालमैत्री स्थानीय तह पश्चिम नवलपरासीको सुनवल नगरपालिका घोषणा भएको छ ।
पूर्व बाल क्लवका सदस्यहरुले स्थापना गरेको जागृति बाल तथा युवा सरोकार नेपालले स्थानीयस्तरमा कार्यक्रमको संयोजन गरेको थियो । पहिलो बाल क्लबमा रहेकाहरुले नै अहिलेका बालिकाहरुलाई विभिन्न भावना प्रस्फुटन गर्न सहजिकरण गरिरहेका थिए । बालिका जुटाउन बालअधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले सहयोग गरेका थिए । बालिका सम्मेलनले बालिकाहरुका समस्या उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए । ‘बालमैत्री स्थानीय तहमा भएका सकारात्मक कुराहरु सिक्न र बालिकाका समस्याहरु सरकारलाई सुनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘पछिल्ला हिंसात्मक घटनाले निराश भएका बालिकाहरुको आत्मबल बढाउन पनि यसले सहयोग गरेको छ ।’
सम्मेलनको व्यवस्थापन र आत्मरक्षा तालिममा खटेका थिए गर्ल्स किकमा आबद्ध किशोरकिशोरीहरु । उनीहरुले बालिकाहरुलाई बलात्कारका प्रारम्भिक चरणमा कसरी आत्मरक्षा गर्न सकिन्छ भन्नेबारे सैद्धान्तिक र प्रयोगात्मक तालिम दिएका थिए । आपतकालिन अवस्थामा आफूलाई बलात्कारीको पञ्जाबाट कसरी उम्काउने भन्ने विभिन्न टिप्सहरु यसमा दिइन्छ । एकैपटकमा बलात्कार नहुने र यसका विभिन्न चरण हुने गर्ल्स किकका निर्देशक निरज न्यौपानेले बताए । ‘आँखाको जुधाईबाट बलात्कारको शुरुवात हुन्छ । बोली, शारीरिक स्पर्श, संघर्ष हुँदै अन्तमा बलात्कार हुन्छ,’ उनले भने,‘यही शुरुका चरणमा बलात्कारीलाई प्रतिरक्षा गर्न सकेमा सुरक्षित हुन सकिन्छ । बलात्कारीले कमजोरीको फाइदा उठाउने भएकाले आफूलाई बलियोरुपमा प्रस्तुत गर्ने कलाहरु हामी दिन्छौं ।’ तालिम र सम्मेलनमार्फत आम मानिसहरुको बालिकाको शरीरलाई हेर्ने दृष्टिकोण बदल्न खोजेको उनले बताए ।
तालिममा एक, पाँच र १५ दिनसम्मका बिषयबस्तु छन् । शुरुमा एक दिन आफूलाई चिन्ने सम्बन्धी सचेतनामुलक अभिमुखिकरण, त्यसपछिका पाँच दिन शारीरिक अभ्याससँगै सशक्तीकरण र त्यसपछि नौ दिन समाजमा अभ्यास गरेर यसको उपयोगिताबारे व्यवहारिक ज्ञान लिइन्छ । अन्तमा बलात्कारसम्बन्धी कानूनी प्रावधानहरु पनि सिकाइन्छ । गर्ल्स किककी प्रशिक्षक विद्या विष्ट र प्रियंका बरालले शारीरिक तालिम दिएका थिए । तालिमको माध्यमबाट बालिकाहरुको आत्मविश्वासको तह बढाउन सकिने उनीहरुले बताए । कसैले केही भनेर जिस्काइहाले के गर्ने, एक्कासी पछाडिबाट कपाल समाए, हात समाए, घाँटी समाए, कम्मर समाए कसरी फुत्कने जस्ता कुराहरु तालिममा सिकाइन्छ । तालिममा बलात्कारीले गर्नसक्ने सम्भावित क्रियाकलापहरुको जानकारी दिई विभिन्न अवस्थाहरुको प्रतिरक्षा उपायहरु सिकाइने गर्ल्स किककी कार्यक्रम प्रबन्धक कुसुम केसीले बताइन् ।
सम्मेलनमा बालिकाहरुले विभिन्न सिर्जनामार्फत पनि आफ्नो आत्मबल प्रदर्शन गरेका थिए । हामी कमजोर छैनौं, हामी पनि सक्षम छौं, बालिका बलात्कारका लागि जन्मेका होइनन्, बालिका बचाओ जस्ता सन्देश बोकिएका चित्र कोरेर बालिकाहरुले आफ्नो आवाज व्यक्त गरेका थिए । उनीहरुले विभिन्न जिल्लाको अवस्थाबारे समीक्षा गर्दै सुरक्षितपूर्वक हिँड्डुल गर्न पाउने वातावरण बनाउन सरकारसँग माग गरे । बालिकाहरुले विभिन्न सिर्जनशील काम गर्नसक्ने भएकाले त्रासमुक्त वातावरण बनाइनुपर्ने नवलपरासीकी रेजिना घर्तीले बताइन् ।
कञ्चनपुरकी निर्मला पन्तलगायत अन्य बालिकाहरुमाथि भैरहेको बलात्कार, हत्या र एसिड आक्रमणका घटनाले सिर्जनशील काम गर्ने मनोभावनामा गम्भीर आघात पुर्याएको नवलपरासीकै पुनम भण्डारीले बताइन् । घटनाका दोषीलाई कार्वाही गर्दै बालिकाहरुको आत्मबल र आत्मविश्वास बढाउनेखालका कार्यक्रम तय गर्न सरकारसँग माग गरिएको छ । बालिकाहरुले दिनहुँजसो यौनजन्य शारीरिक तथा मानसिक हिंसा भोग्नुपरेको र यसप्रति सरकार उदासिन भैरहेको पाल्पा बाल सञ्जालकी अध्यक्ष शुष्मा खनालले बताइन् । ‘न्याय माग्दा ज्यान गुमाउनुपर्ने अवस्था आयो । हाम्रो सुरक्षा गर्न सरकार किन तयार छैन ?,’ उनले भनिन्, ‘हामी घरबाट निस्कन डराउनुपर्ने अवस्था आएको छ । हामी ढुक्कसँग हिँड्ने अवस्था कहिले आउँछ ? बलात्कार र हत्या जस्ता अपराधका दोषीलाई कार्वाही कहिले हुन्छ ?’
सम्मेलनमा बालिकाका समस्यामाथि प्रश्नोत्तर कार्यक्रम पनि सञ्चालन गरिएको थियो । बालिका सम्बन्धी सरोकारवाला निकायका प्रमुखहरुसामु बालिकाहरुले विभिन्न प्रश्न गरेका थिए । सरोकारवालाले प्रश्नको जवाफ दिएर बालिकाका जिज्ञासा मेट्ने प्रयास गरेका थिए । मानवअधिकार हनन्का घटनाहरु बढिरहँदा पनि मानवअधिकार आयोग किन चुप लागेर बसिरहेको छ भन्ने बालिकाहरुको प्रश्नमा आयोगका गण्डकी प्रदेश प्रमुख दीपकजंग कार्कीले जवाफ दिएका थिए । उनले आयोगले मानवअधिकार उल्लंघनका घटनाबारे अध्ययन गरी सरकारलाई उचित कदम लिन सिफारिस गर्दै आएको जानकारी दिएका थिए ।
मानवअधिकार उल्लंघनका घटनाहरु अभिलेखिकरण गर्ने संस्था इन्सेकका गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले सरकारलाई गम्भीर हुन दबाब दिइरहेको बताए । बालबालिकासम्बन्धी काम गर्ने संस्था केयर नेपालकी करुणा थापा मगरले बालिका बचाउन समुदाय तहमै प्रभावकारी चेतनामूलक कार्यक्रमको खाँचो रहेको बताइन् । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बालमैत्री स्थानीय तह कसरी बनाउन सकिन्छ भन्नेबारे जानकारी दिएका थिए । बालमैत्री अभियन्ता खिमानन्द भुसालले बालमैत्री स्थानीय तहमा बालबालिकाका अधिकार सुरक्षित हुनसक्ने बताए ।
बालहिंसा, श्रम, विवाह र अन्य समाजिक कुरीतिसम्बन्धी विषयहरु विद्यालयको पाठ्यक्रममा समावेश गर्न पनि बालिकाहरुले माग गरेका थिए । बालिकाहरुले उठाएका सवाल गम्भिरखालका रहेको र सरकारले बालिका बचाउन तत्काल प्रभावकारी कार्यक्रम थाल्ने गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले बताइन् । ‘बालिकाहरुले उठाएका सवाल गम्भिर खालका छन् । दिनहुँजसो भैरहेका बलात्कार र हिंसाका घटनाले हामीलाई दुखी बनाएको छ,’ उनले भनिन्,‘बलात्कारका दोषीलाई कारवाही गर्न र बालिका बचाउन हामी कटिबद्ध छौं ।’












