सैघा, ३० कार्तिक । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको समन्वयमा घोराहीको पहाडी वडा सैघामा एकीकृत घुम्ती शिविर आयोजना गरिएको छ ।
भगवती मा.वि. होडबाङमा आयोजित शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, पशु स्वास्थ्य जाँच, कृषकहरुलाई परामर्श, निःशुल्क औषधि वितरण, नमस्ते र स्काई सिमकार्ड वितरण लगायतका सेवाहरु प्रवाह गरिएको छ । ३६ वर्षीय स्थानीय कमला घर्तीलाई नागरिकता प्रदान गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिविरको उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले जनताहरुलाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको बताउँदै विविध कारणले सेवा लिनबाट बञ्चित नागरिकलाई सेवा दिनु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो ।
भौगोलिक हिसाबले उपमहानगरको विकट यस वडालाई सडक सञ्जाल विस्तार गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै नगर प्रमुख चौधरीले भौगोलिक विकटता अबको आर्थिक वर्षभित्रै सुगमतामा परिणत हुने बताउनुभयो ।
पहिलो पटक स्थानीय सरकार आएपछि पिछडिएको सैघा वस्तीमा सडक पुगेको भन्दै अब त्यसलाई व्यावसायिकतासँग जोड्न समेत चौधरीले आग्रह गर्नुभयो । स्थानीय उत्पादनलाई बजारसँग जोडी आयआर्जनमा बृद्धि गर्नुपर्ने उहाँको सुझाब थियो ।
विकट वस्तीका नागरिकलाई घरदैलोमै एकीकृत रुपमा सेवा प्रवाहका लागि सैघामा शिविर चलाएको दाङका प्रमुख जिल्ल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । पिछडिएको एवं विकट क्षेत्रका नागरिकलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले शिविर आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसूदन यादवले चालु आर्थिक वर्षमै सैघामा विद्युत पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले त्यसका लागि यसै वर्ष ११ के.भी.ए.को ट्रान्सफर्मर राखिने जनाउनुभयो ।
१९ नम्बरका वडा अध्यक्ष हर्क घर्तीमगर वडाको विकासका लागि अब स्थानीय सरकारसँगै राज्यका अन्य निकायले लगानी गर्नुपर्ने माग राख्नुभयो । खानेपानी, बिजुली, सडक लगायत आधारभूत आवश्यकता प्राप्त गर्न समेत समस्या भएको बताउँदै उहाँले यसतर्फ सम्बद्ध निकायले लगानी गर्नुपर्ने बताउनुभयो ।
शिविरमा ३ घण्टा पैदल हिँडेर समेत नागरिक सेवा लिन आएका थिए । घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गर्दै स्थानीयले वडाको विकासमा ध्यान दिन स्थानीय सरकारलाई आग्रह गरेका थिए । शिविरमा बालकदेखि बृद्धसम्मले सेवा लिइरहेका छन् । सरकारी सेवालाई वडाबाटै प्राप्त गर्ने गरी सहज तथा प्रभावकारी बनाउन र आवश्यक कर्मचारी परिचालन गर्न उनीहरुले माग गरेका थिए । विकट बस्ती भएको भन्दै दक्ष जनशक्ति आफ्नो वडामा आउन नमान्ने भएको हुँदा आवश्यक सेवा सुविधा एवं स्रोतसाधनको व्यवस्थापन गर्न पनि उनीहरुले माग गरेका थिए ।
शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही उपमहानगरको स्वास्थ्य शाखा, वडा नं. १९ को स्वास्थ्य चौकीले स्वास्थ्य परीक्षण एवं परामर्श प्रदान गरेका छन् ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अमरराज शर्माले गर्नुभएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Advertisements


