घोराही, ४ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले व्यक्तिगत घटना दर्तालाई कम्प्युटरमार्फत अनलाइन प्रणालीमा लगेको छ । वडा कार्यालयले मंगलबार दुईजना बच्चाहरुको जन्मदर्ता कम्प्युटरमार्फत अनलाइन प्रणालीमा गरिदिएको हो ।

भिसन वली र दीपा वलीको जन्मदर्तालाई अनलाइनमार्फत गरिएको हो । सो जन्मदर्ताको प्रमाणपत्र नगर प्रमुख नरुलाल चौधरीले उनीहरुका अभिभावकलाई हस्तान्तरण गरी व्यक्तिगत घटना दर्तालाई कम्प्युटरमार्फत गर्ने कार्यको थालनी भएको हो ।

वडाका कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले वडाबासीका कुनै पनि व्यक्तिगत घटनाहरुलाई व्यवस्थित र सुरक्षित बनाउन प्रबिधिलाई प्रयोग गरिएको जानकारी दिनुभयो ।

कम्प्युटर प्रणालीबाट दर्ता भएका कुनै पनि घटनाहरु केन्द्रीय पञ्जीकरण विभागमा जोडिने उहाँको भनाइ छ । वडाले यस अघि नै वडाबाटै कम्प्युटर प्रणालीमार्फत सम्पत्ती कर र मालपोत समेत बुझ्दै आएको छ ।

टोल विकासलाई कुर्सी उपहार
यसैबीच घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले वडामा रहेका विभिन्न ८ वटा टोल विकास संस्थाहरुलाई कुर्सी वितरण गरेको छ । वडाका कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले आठवटा टोल विकास संस्थाहरुलाई १५ वटाका दरले कुर्सी वितरण गरिएको हो ।

नगर प्रमुख चौधरीसहित जनप्रतिनिधीहरुले टोल विकास संस्थाका पदाधिकारीहरुलाई कुर्सी हस्तान्तरण गर्नुभयो । आफ्नै भवन भएका तर बस्नका लागि समस्या भएका संस्थाहरुलाई कुर्सी सहयोग गरिएको वडाका कार्यबहाक अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

वडा कार्यालयले डाँफे, लेटार, मुक्तकमैया, बयरबटुवा, प्रगतिशिल, सानीअम्बापुर, जुरुटे र राटामाटा टोल विकास संस्थाहरुलाई कुर्सी प्रदान गरेको हो । कार्यक्रममा बोल्नै नगर प्रमुख चौधरीले टोल विकास संस्थाहरुलाई वडा संबृद्ध बनाउने अभियानमा सहयोगी भुमिका खेल्न आग्रह गर्नुभयो । समाजलाई सुधारको बाटोमा लैजान र बिकृतीहरुलाई रोक्न टोल विकास संस्थाहरु लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा उपमहानगरपालिकाका सल्लाहकार अरुणकुमार शर्माले वडालाई विकाससँग जोड्न र सहजिकरणको भुमिकामा क्रियाशिल रहन टोल संस्थाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन वडा सचिव नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस