घोराही, २२ मंसिर । दाङमा प्रहरीले विभिन्न आपराधिक कार्यमा संलग्न भएको अभियोगमा फरार रहेका ६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले जारी गरेको विज्ञप्तिमा ज्यान मार्ने उद्योग, बैंकिङ कसुर, डाँकाचोरी र लुटपाट मुद्दाका ६ जना अभियुक्तहरुलाई नियन्त्रणमा लिएको उल्लेख छ ।
२०७४ साल जेठ ११ गतेदेखि फरार रहेका ज्यान मार्ने उद्योगका प्रतिवादी घोराही ७ सुकवारीका २४ वर्षीय नेकबहादुर चौधरीलाई प्रहरीले यही मंसिर २० गते पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी बैंकिङ कसुर मुद्दामा फरार रहेका घोराही उपमहानगरपालिका १५ बिपी चोक बस्ने ४६ वर्षीय खुमबहादुर खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरका अनुसार डाँका चोरी मुद्दामा यही मंसिर १७ गतेदेखि फरार रहेका घोराही १३ का १८ वर्षीय नवीन नेपाली, घोराही ५ बस्ने रियाज खान र सोही ठाउँका १९ वर्षिय सौगात नेपालीलाई पक्राउ गरिएको छ ।
यसैबीच देउखुरीको राजपुर गाउँपालिका ५ भेटन खोलाबाट घोराही ५ का ५६ वर्षीय मानसिंह ओलीको साथबाट लुटिएको १२ लाख रुपैयाँमध्ये १० लाख ५ सय रुपैयाँसहित राजपुर गाउँपालिका ५ सालभौरी बस्ने ३५ वर्षीय डिल्लीबहादुर रोकायलाई प्रहरी पक्राउ गर्न सफल भएको छ ।
यही मंसिर १९ गते ओलीको साथबाट रोकायसहित ५ जनाले रकम लुटेको प्रहरीले जनाएको छ । अन्य फरार रहेका व्यक्तिहरुको अनुसन्धान र खोजी कार्य भैरहेको प्रहरी प्रवक्ता घर्तीले जानकारी दिनुभएको छ । साथै प्रहरीले केही दिन पहिले राजपुर गाउँपालिका ३ भैसहवामा भएको मोटरसाइकल आगजनीको घटनाका बारेमा अनुसन्धान भैरहेको पनि विज्ञप्तीमा उल्लेख गरेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस