घोराही, १३ पुस । दाङको घोराहीमा आगामी माघ महिनामा ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव एवं प्रर्दशनी २०७५ हुने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा आगामी माघ १० देखि २० गतेसम्म पोल्ट्री महोत्सव एवं प्रर्दशनी हुने भएको हो ।

समितिले शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गरी कुखुरापालन व्यवसायलाई प्रबद्र्धन गर्ने मुख्य उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी दिएको छ । कुखुरा उत्पादनको बजारीकरणसँगै पोल्ट्रीलाई व्यावसायीककरण गर्दै आर्थिक उपार्जन बढाउन महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष नीमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित कृषि सामग्री संस्थानको जग्गामा महोत्सव सञ्चालन हुनेछ । महोत्सव तथा प्रर्दशनीमा विज्ञमार्फत कुखुरापालन सम्बन्धी प्रशिक्षण, अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम गरिने समेत अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

करिब एक सय स्टलहरु रहने र त्यसमा पोल्ट्री, कृषि, वित्तीय संस्था र गाडीहरुको प्रचार तथा बिक्री हुने आयोजकले जनाएको छ । साथै बाल उद्यानसहित सांस्कृतिक कार्यक्रम, पर्यटन प्रबद्र्धनसँग व्यावसायिकता जोडेर महोत्सव सञ्चालन हुने जानकारी दिएको छ । दाङ जिल्ला कुखुरापालनमा नेपालकै दोस्रो जिल्ला पर्ने गरेको छ भने जिल्लामा मासिक झण्डै साढे ३ लाख चल्ला भित्रने गरेको छ ।

महोत्सवमा २ लाखलाई अवलोकन गराउने र २ करोडको आर्थिक कारोबार हुने लक्ष्य समेत राखिएको छ । पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य धुब्रराज श्रेष्ठ भारी, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र आयोजक समितिका महासचिव चन्दन भण्डारीले महोत्सवलाई सफल बनाउँदै कुखुरा व्यवसायलाई बलियो बनाउन कृषि उत्पादनमा सरकारले विशेष ध्यान दिन आवस्यक रहेको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस