घोराही, १३ फागुन । पाँच नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी सोनामले सर्वपक्षिय सहमतिबाटै प्रदेशको स्थायी राजधानी तोकिने बताएका छन । प्रेस चौतारी र प्रेस सेन्टर दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री केसीले सवैलाई पायक पर्ने स्थानमा स्थायी राजधानी राख्नकालागि सहमतिको प्रयास भइरहेको जानकारी दिए ।

स्थायी राजधानीकालागि सर्वपक्षिय सहमतिको प्रयास भइरहेको छ हामी छलफलमा छौ, मन्त्री केसीले भने,– प्रदेशवासीको मनो विज्ञान र भावना नटुट्नेगरी र सवैलाई न्याय र पायक पर्नेगरी स्थायी राजधानीको निर्णय गर्छौ । उहाँले २÷३ महिनाभित्र पायक पर्ने ठाउँमा स्थायी राजधानी तोकिने भन्दै त्यसो गरिए आगामी बजेट बनाउनसमेत सहज हुने बताए । बाँझो जमिनमा खेती सुरु गरेको भन्दै मन्त्री केसीले सवै मिलेर काम गर्दा यो प्रदेशकै विकास हुने नत्र छिन्नभिन्न पनि हुनसक्ने खतरा औल्याए । छलफलहरु सकारात्मकरुपमा चलिरहेका छन सवै मिलेर विकास गरौं भन्नेमा हामी लागेका छौ केसीको भनाई थियो ।

उनले पाँच नम्वर प्रदेशमा तीनवटा मेघा सिटीको परिकल्पना गरिएको जानकारी दिदै प्रदेश सरकारले सोहीअनुसारको योजना अगाडि बढाउने प्रतिवद्धता समेत जाहेर गरे । अस्थायी राजधानी बुटवलमा मन्त्रीलाई आवास नपाएर होटलमै बस्नुपरेको छ नी भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री केसीले समस्या छ, त्यसको व्यवस्थापन हुनेगरी हामीले काम गर्छौ भने । सो अवसरमा बोल्दै मन्त्री केसीले देशका ठूला बाम पार्टीवीच एकता छिटै हुने भन्दै एकिकृत नेपाल कम्युनिष्ट पार्टी निर्माण हुनेमा शंका नगर्न पनि आग्रह गरे । व्यक्ति लाभको कुरा होइन, भनेकै समयमा एकता नहुदा टिकाटिप्पणि भएका होलान नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका मन्त्री केसीले भने,– बाम आन्दोलनको रक्षार्थ सवैले सेक्रिफाइस गर्छौ, पार्टी एकता हुन्छ, ढुक्क हुनुस ।  फरक फरक धारबाट आएका दुइ ठूलो बाम पार्टी एक हुदा पुराना ह्याङ केही देखिएको भन्दै केसीले नयाँ साझा स्वरुप नहुदासम्म ह्याङ आउनु देखिनु स्वभाविक भएको बताए । प्रेस सेन्टरका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको भेटघाटमा स्वागत प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेत र सञ्चालन सेन्टरका सचिव पाण्डव शर्माले गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस