घोराही, १२ कार्तिक । घोराही उपमहानगरपालिकाले आफ्नो मातहतमा रहेका स्वास्थ्य चौकीहरुको अनुगमन गरेको छ । केही दिन पहिले ढिकपुर र नारायणपुर स्वास्थ्य चौकीको अनुगमन गरेको उपमहानगरले सोमबार रामपुरमा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र लक्ष्मीपुरमा रहेको स्वास्थ्य चौकीको अनुगमन गरेको हो ।
उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेको नेतृत्वमा भएको अनुगमन टोलीले उपचार सेवा, कर्मचारी उपस्थित र सरसफाईको क्षेत्रलाई हेरेको छ । दुबै स्वास्थ्य केन्द्रहरुमा कर्मचारीहरु उपस्थित भएको र केही प्रकृया पुर्‍याएर बिदामा बसेको पाइएको छ ।
अनुगमन टोलीले स्वास्थ्यका कर्मचारीहरुलाई भएको स्रोत साधनको अधिकतम प्रयोग गरी बिरामीहरुको उपचारमा खट्न निर्देशन दिएको छ । सक्ने उपचार गर्न र नसक्ने प्रकृतिका विषयमा जोखिम नमोली माथिल्लो उपचार केन्द्रहरुमा पठाउन आग्रह गरेको छ ।
उपप्रमुख न्यौपानेले सरसफाई नै स्वस्थ्ताको आधार भएको भन्दै सरसफाईमा विशेष ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सिसा र प्लाष्टिकजन्यवस्तुहरुलाई नजलाउन र ती वस्तुहरुको छुट्टै व्यवस्थापन गर्न टोलीले सुझाव दिएको छ ।
अनुगमनमा उपप्रमुख न्यौपानेसहित उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन समितिका प्रमुख खोपीराम चौधरी, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, सामाजिक विकास समितिका संयोजक भरत अर्याल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती रहनुभएको थियो । साथै टोलीले वडा नम्बर १, २ र ३ को वडा कार्यालयको समेत निरीक्षण गरेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस