घोराही, १ मङ्सिर । बालमैत्री घोषणाका लागि अघि बढेको घोराही उपमहानगरपालिका वडा नं. २ का अभिभावक र बालबालिकाले एउटै मञ्चमा उपस्थित भई छलफल गरेका छन् । घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालद्वारा आयोजित अभिभावक र बालबालिकासँगको छलफल कार्यक्रममा उनीहरुले वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा आफूहरु सक्रियतापूर्वक लाग्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

छलफलका क्रममा अभिभावकहरुले आफ्नो टोल तथा वडाका हरेक बालबालिकाहरुलाई अधिकार प्राप्तिका लागि आफ्नो सकारात्मक भूमिका रहने बताएका थिए । अभिभावकसँगै कार्यक्रममा छलफल गर्न पाउँदा उत्साही देखिएका बालबालिकाहरुले परिवारको साथ भएमा बाल क्लबमार्फत सम्पूर्ण बालबालिकाहरुलाई बालमैत्री वातावरण दिलाउन अभियान चलाउने बताएका थिए ।वडा नं. २ का अध्यक्ष केशवराज आचार्यले चेतनाको स्तरसँगै सन्तान जन्माउने दर पनि कम हुँदै गएकोमा खुसी हुनुपर्ने बताउनुभयो । पहिलेजस्तो आमाहरुलाई बच्चा जन्माउने मेसिन मान्ने धारणा परिवर्तन भएको भन्दै उहाँले अब बालबालिका जन्मनुपूर्व नै उसको उचित व्यवस्थापनको योजना बनाउन जरुरी भएको धारणा राख्नुभयो । कुनै पनि बालबालिका आफ्नो इच्छाले नभई अभिभावककै इच्छाअनुसार जन्मने भएकाले उसका लागि उचित वातावरण दिनु अभिभावकै दायित्व भएको उहाँले बताउनुभयो । वडालाई यसै आर्थिक वर्षमा बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको बताउँदै उहाँले यस अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पत्रकार शरद अधिकारीले बालअधिकार तथा बालबालिकाप्रति अभिभावकको दायित्वका बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण हिप्डेकका कार्यक्रम संयोजक किरण गौतमले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस