दाङ, १ मंसिर । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. २ का योजनाहरु छनोट गरी बजेट विनियोजन गरिएको छ । प्रत्यक्ष निर्वाचित सांसदले पाउने कुल चार करोड बजेटबाट विभिन्न योजनाका लागि बजेट विनियोजन गरिएको हो ।

सांसद कृष्णबहादुर महराले उक्त कार्यक्रममार्फत् सबैभन्दा बढी बंगलाचुलीस्थित कमिरेचौरमा १५ शैयाको अस्पताल निर्माण र मावि दूधरासमा प्राविधिक शिक्षाका लागि भवन निर्माणमा ५०/५० लाख रकम विनियोजन गर्नुभएको छ । त्यसैगरी बंगलाचुलीकै लाहापे सामुदायिक स्वास्थ्य इकाई निर्माणका लागि २५ लाख, स्यूजा टुसार–जरुवा मोटरबाटो निर्माणका लागि २५ लाख, घोराही १२ को मावि निघुवारको प्राविधिक कृषि शिक्षा भवन निर्माणका लागि २५ लाख, घोराही ६ फचकपुर–पक्वै–बचाह– जोड्ने वैरहीसोतामा पुल निर्माणका लागि २५ लाख, घोराही ९ एकलघरुवा डिप ट्युवेल वितरण प्रणाली निर्माणका लागि २५ लाख विनियोजन गर्नुभएको छ ।

त्यसैगरी घोराहीमा बधशाला निर्माणका लागि १५ लाख, घोराही १७ मा सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि १५ लाख, सर्वोदय पुस्तकालयको भवन निर्माणका लागि १५ लाख, घोराही ४ ढुङ्गेडाँडामा डिपबोरिङका लागि १५ लाख, घोराही १३ बाँसबोट–बडहरा–लाहुरेडाँडा–तेरौटे स्कुल हुँदै अटो भिलेज पक्की नालासहित सडक स्तरोन्नतिका लागि १५ लाख, सहिद स्मृति विद्यालयका लागि १५ लाख, तुलसीपुर १६ डोक्रेना बर्दियाडाँडामा डिप बोरिङ निर्माणका लागि १५ लाख, घोराही ८ दुन्द्रा–वेलनी पक्की बाँध र नहर निर्माणका लागि १५ लाख र घोराही ११ नयाँबगाले–पालुथान–खुङ्कोट–चाँचला मोटरबाटो निर्माणका लागि १५ लाख विनियोजन गर्नुभएको छ ।

त्यसैगरी घोराही १७ बर्गदीमा सहिद स्मृति पार्क निर्माणका लागि १० लाख, घोराही १९ लाँकुरीबजार–घोरधारा–स्वर्गद्वारी सडक निर्माणका लागि १० लाख, घोराही १८ सुपैलाखुटी लिफ्ट सिचाइका लागि ट्रान्सफर्मर र कुला निर्माणका लागि १० लाख र तुलसीपुर १९ खैरेनी ग्वारखोलामा तटबन्ध निर्माणका लागि १० लाख रुपैया विनियोजन गर्नुभएको छ ।

समग्र बजेटबाट शिक्षा क्षेत्रको पूर्वाधार विकासका लागि एक करोड २० लाख, स्वास्थ्यतर्फ ७५ लाख, सडक र पुलपुलेसातर्फ ९० लाख, सिचाई तथा खानेपानीतर्फ ९० लाख र बधशाला तथा सहिदपार्क निर्माणतर्फ २५ लाख बजेट विनियोजन गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस