घोराही, १२ मङ्सिर । घोराही उपमहानगरपालिकाका वडाहरुमा गठित बालक्लबले क्रियाशीलताका लागि आफ्नो भूमिका खोज्न थालेका छन् । उपमहानगरपालिकाले यसै वर्षदेखि हरेक वडामा समुदायमा बाल क्लब गठनलाई अनिवार्य गराएपछि गठन गरिएका बाल क्लबहरुले संरचनामा मात्र नभएर आफूहरुको सक्रियताका लागि सहयोग गर्न अभिभावक, समुदाय एवं वडालाई आग्रह गरेका हुन् ।

हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालले उपमहानगरका वडाहरुमा गरेको बालबालिका र अभिभावकहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले बालबालिकाहरुलाई कमजोर नठानेर उनीहरुको सकारात्मक प्रयासमा साथ दिन सम्बद्ध सबै निकायहरुलाई आग्रह गरेका थिए ।

अन्तक्र्रियामा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. ११ को संघर्षशील बाल क्बलका अध्यक्ष उषा कवँरले बालबालिकाहरुको प्रयासमा अभिभावक एवं समुदाय दुवैको सहयोगको खाँचो रहेको बताउनुभयो । बालबालिकासँग सम्बन्धित विषय मात्र नभएर सामाजिक विषयमा पनि बालक्लबले अग्रसरता देखाउँदा परिवार एवं समाजबाट सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो । “बालबालिकामाथि हुने हिंसा, बालअधिकारसम्बन्धी चेतना, टोलको सरसफाई जस्ता काममा क्रियाशील हुन बाल क्लब तयार छ” अध्यक्ष कवँरले भन्नुभयो “हामीसँग अनुभव छैन तर काम गर्ने जोश जाँगर छ, यसमा सबैको सहयोग भयो भने अवश्य पनि सफल हुनेछौँ ।”

घोराही १७ को सूर्योदय बाल क्लबका सुदन पौडेलले वडाका बालबालिकाहरुमा दुव्र्यसन बढिरहेको बताउँदै यसको नियन्त्रणका लागि परिवार, समुदाय एवं प्रहरीको सहयोग आवश्यक रहेको बताउनुभयो । क्लबको बैठक बस्नलाई समेत स्थानको अभाव भएको बताउँदै पौडेलले बालक्लबका गतिविधि सञ्चालनका लागि वडालाई सहयोग गरिदिन आग्रह गर्नुभयो ।

वडा नं. १७ मै रहेको मदन भण्डारी मेमोरियल स्कुलका शिक्षक नवराज अधिकारीले बाटो, पूर्वाधार एवं अन्य भौतिक विकासलाई मात्र विकासको सूचक मान्ने अभिभावकको धारणा परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । अभिभावकहरुले बालबालिकाहरुमा लगानी गर्न तयार नभएको बताउँदै उहाँले बालबालिकामा आएको चेतनालाई विकास मान्ने कि नमान्ने भन्दै प्रश्न गर्नुभयो । अस्थायी प्रहरी पोष्ट चौघेराका इन्चार्ज ललितबहादुर रावतले वडामा आवश्यक भए आफूहरुले लागुऔषध दुव्र्यसनसम्बन्धी चेतनामूलक प्रशिक्षण जुनसुकै बेला पनि दिन तयार रहेको बताउनुभयो । लागुपदार्थ दुव्र्यसन नियन्त्रण गर्न प्रहरी दिनरात लागिरहेको बताउँदै उहाँले यसमा सहयोग गर्न सम्पूर्ण वडावासीमा आग्रह गर्नुभयो ।

वडा नं. १० का वडा सदस्य लक्ष्मी लम्सालले बालबालिकाहरुमा बढ्दै गएको दुव्र्यसन रोक्न बाल क्लबलाई सक्रिय बनाउन वडा लागिपरेको बताउनुभयो । बालक्लबहरुलाई क्रियाशील बनाउनुका साथै केही खेलकूदका सामग्री वितरण गर्ने योजना समेत वडाले ल्याएको उहाँले जानकारी दिनुभयो । बालबालिकालाई अभिभावकले उचित हेरचाह एवं वातावरण नदिँदा दुव्र्यसन बढ्दै गएको भन्दै उहाँले अबका दिनमा बाल क्लबहरुलाई बालअधिकार एवं सचेतनाका पाटोमा सक्रिय बनाई वडाले हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा नं. १३ का वडा सदस्य केशव गिरीले बालबालिकाहरुका हरेक क्रियाकलापमा साथ दिन वडा तयार रहेको बताउँदै जस्तुसुकै अप्ठेरो स्थितिमा पनि वडालाई जानकारी दिए जनप्रतिनिधिले साथ दिने बताउनुभयो । समुदायस्तरबार योजना छनौट गर्दा बालबालिकाको योजना आउन नसकेकोमा दुःख व्यक्त गर्दै बालबालिकाको क्षेत्रमा लगानी गर्न सके त्यसले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो ।

अन्तक्र्रियामा अभिभावकहरुले विद्यालय सुधार, शिक्षकहरुको दरबन्दी जस्ता कुराहरुको अभाव हुँदा बालबालिकाहरुको शैक्षिक गुणस्तरमा सुधार आउन नसकेको गुनासो गरेका थिए । बालबालिकाहरुले अभिभावकहरुले शैक्षिक भार मात्र थप्ने गरेको बताउँदै परिवार एवं समाज दुवैको वातावरण बालमैत्री हुन जरुरी भएको धारणा राखेका थिए । हिप्डेकले घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा घोराही उपमहानगरपालिकाका १९ वटै वडामा बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत घोराहीका वडा नं. १, २, १०, १३, ११ र १७ मा बालबालिका र अभिभावकसँगै अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको हिप्डेकका कार्यक्रम संयोजक किरण गौतमले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस