घोराही, १४ मंसिर । घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्या अभियोगमा पक्राउ परेका अमर खत्रीले प्रहरी समक्ष अपराध स्वीकारेका छन् । बिहीबार बेलुका घोराही १३ दूधेसोतामा लगेर हत्या गर्दा प्रयोग गरेको चक्कु किनेको पसल समेत अभियुक्त खत्रीले देखाएका छन् । हत्या गरिएको ठाउँमा शवमाथि राखिएका चक्कुसहित पक्राउ परेका खत्रीलाई शुक्रबार विहान प्रहरीले किनेको पसल देखाउन लगेको थियो । वडा प्रहरी कार्यालय नजिकैको पसलबाट किनेको उनले बयान दिएपछि पसल धनीले पनि सोही व्यक्तिले चक्कु किनेर लगेको बताएका थिए । रकम लेनदेनकै विषयमा अपराध गरेको उनले स्वीकार गरेका छन् । ‘उसले हत्या गर्दा प्रयोग गरेको चक्कु र किनेको ठाउँ पहिचान भएपछि सबै अपराध स्वीकार गरेको छ, अब उसलाई आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान र कार्वाही प्रक्रिया अघि बढाउँछौ’ प्रहरी स्रोत भन्यो ।
खत्रीकै संलग्नता देखिने ३ तथ्य
१. उनले पैसा लिनका लागि पसलमै आएर लैजानु । अभियुक्तले दिनुपर्ने रकम अन्य व्यक्तिबाट लिने तर तपाई (नन्दबहादुर) जमानी बस्नुपर्छ भनेर लैजानु र आधा घण्टामै हत्या हुनु ।
२. हत्यामा प्रयोग भएको चक्कु घटनास्थलमै भेटिनु र अभियुक्तले प्रहरीले कहाँ किनेको भनेर देखाउन लगाउँदा भाँडा पसलमा लगेर देखाउनु र भाँडा पसल धनीले पनि आफूले बिक्री गरेको भन्नु र व्यक्ति चिन्नु ।
३. अपराध गर्दा खत्रीको हातमा चोट लाग्नु र कपडाभरी रगतले लत्पतिनु । खत्रीको दाहिने हातको चोर औला काटेको छ भने नाडीमा पनि चोट लागेको छ । उनले लगाएको कपडा रगतमा पोतिएको हुनु ।यसरी भयो घटना 
खत्रीले केही दिन पहिले घर्तीको पसलबाट ५ लाख रुपैयाँको घर निर्माण सामग्रीहरु लगेका थिए । उनले घोराहीदेखि बाह्रकुने दह जाने सडकको दक्षिणतर्फ बाँसबोटमा घर बनाइरहेका छन् । उक्त सामान खरिद गर्दा २ लाख ४६ हजार रुपैयाँ बुझाए र २ लाख ५४ हजार रुपैयाँ बाँकी राखे । धेरै दिनसम्म पनि पैसा दिएनन् । उनले आवस्यक पर्ने थप निर्माण सामग्री नयाँ बसपार्ककै एक हार्डवेयर पसलबाट किनेर लगे तर माडी हार्डवेयरमा गएनन् । घटना हुनुको दिन बिहीबार बिहान खत्री र घर्ती बीच सामान्य विवाद समेत भयो । दिउँसो अपराधको मनमा षडयन्त्र बुने र आवस्यक हतियारसहित सोच तयार गरे । बेलुकापख पसलमा पुगेका खत्रीले तपाईंलाई पैसा आजै दिन्छु घर नजिकै जाउँ तपाईं देखिनुस उसँग मैले पैसा लिन्छु मात्रै तपाई साक्षी बस्दिनुस् भन्यो र लगेर गयो । आधा घण्टासम्म नआएपछि पसलबाट श्रीमती सुमीत्रा घर्तीमगरले फोन गर्नुभयो तर फोन उठेन पछि उतैबाट फोन गरेर तपाईको मान्छे घाइते अवस्थामा फलानो ठाउँमा लडेको छ भन्यो ।

यसरी भेटिए नन्द
रक्ताम्य अबस्थामा सडकमा लडेको अबस्थमा स्थानियले फेला पारे । एक जना गाउँबाट घर फर्कदै गरेका व्यक्तिले व्यक्ति लडेको देखे । रक्ताम्य देखे पछि उनि डराए र प्रहरीलाई खबर गरे । घर्तीको मुख र छाती जोडिने गरि चक्कु राखिएको देखिन्छ । घर्तीलाई अस्पताल ल्याईयो । अस्पताल ल्याउदा उनको मृत्यु भैसकेको थियो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीका चिकित्सकहरुले मृत घोषणा गरे ।

प्रहरीले यसरी पक्राउ गर्‍यो
घटना सुन्ना साथ खाना खादै गरेका प्रहरीहरु तत्काल परिचालन भए । एसपी वेलबहादुर पाण्डे सहित अन्य प्रहरीहरु घटना स्थलमा परिचालन भए र आधा घण्टामै खत्रीलाई पक्राउ ग¥यो । उनको हातमा चोट लागेको र रगत लागेको कपडा निकालेर कोठामा राखेको फेला पा¥यो । प्रहरीले केही समय ढिलाई गरेको भए प्रहरीलाई पक्राउ गर्न मुस्कील पर्ने देखिन्छ ।म्याद थप भएन
शुक्रबार दाङ देउखुरी जिल्ला अदालतबाट म्याद थप्ने योजना बनाएको प्रहरीले दर्ता गर्न सकेन । पिडित परिवारले किटानी जाहेरी नदिदा प्रहरीले म्याद थप गर्न नसकेको हो । भोली शनिबार परेकाले अब आईतबार मात्रै म्याद थप हुने छ । अहिले प्रहरीले जरुरी पक्राउ पूर्जीका आधारमा नियन्त्रणमा राखेको र त्यसलाई आईतबार अदालतले सदर गर्ने छ ।

खत्रीकै नाममा किटानी जाहेरी
घटनामा अमर खत्रीकै संलग्नता देखिएकोमा कसैको बिमती छैन् । दोषी अदालतले ठह¥याउन बाँकी नै छ । तर उनले प्रहरी समक्ष दिएको बयान र प्राप्त प्रमाणले उनले नै घटना घटाएका छन् । दिबंगत नन्दबहादुर घर्तीमगरकी श्रीमती सुमित्रा घर्तीमगरले पतिको हत्या अमर खत्रीले नै गरेको र हदै सम्मको कार्वाही गर्न माग सहितको किटानी जाहेरी र पूर्ण बिबरण प्रहरीमा दर्ता गराएकी छिन् ।

अन्यमा पनि परिवारको शंका
पिडित परिवारले नन्दबहादुरको हत्यामा अन्यको पनि संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन् । शुक्रबार दिनभर प्रहरी कार्यालयमा रहेका पिडित पक्षले अमर खत्री एक्लैले उक्त घटना घटाउन नसकेको र साथ दिने अन्य पनि हुने भन्दै भरपर्दो अनुसन्धन गर्न प्रहरी प्रमुख एसपी पाण्डे समक्ष माग गरेका छन् । रगतको थोपा देखिएको डेढ सय मिटर सम्म रगतको धारा बगेको भन्दै उनिहरुले हत्यामा समूह नै संलग्न भएको हुन सक्ने भन्दै शुष्म र गम्भिर ढंगबाट अनुसन्धान गर्न माग गरेका छन् ।

किन बुझिएन शब ?
हत्या भएको २४ घण्टा बिति सक्दा सम्म पनि पिडित परिवारले शब बुझ्न मानेका छैनन् । घटनाको प्रकृती हेर्दा घटनामा अन्यको पनि संलग्न भएको हुन सक्ने भन्दै परिवारले शब पोष्ट मार्टम पनि गर्न दिएका छैनन् । शुक्रबार दिनभर प्रहरी कार्यालयमा बसेर अन्यको पनि खोजी गर्नुपर्छ भन्दै आवाज उठाएका परिवारले प्रहरीलाई गम्भिर बन्न दवाब दिएका छन् । घटनाको प्रकृती हेर्दा एउटाले मात्रै गरेन भन्ने स्पष्ट हुन्छ तर प्रहरीले अहिले सम्म खत्रीको मात्रै संलग्नता देखिन्छ भन्न तर हामीले त्यो कुरा मानेका छैनौ श्रीमती सुमित्राले भन्नुभयो ।

प्रहरी के भन्छ त ?
हत्यामा संलग्न खत्री नै भएको पुष्टि भैसकेको छ । थप आबस्यक अनुसन्धान पनि गरिरहेका छौ । घटना नहुनु थियो भयो तर अपराध गर्नेलाई उम्किन दिएनौ एसपी पाण्डेले भन्नुभयो । घटना भएको र सूचना पाएको आधा घण्टामै अभियुक्तलाई केही प्रमाण सहित पक्राउ गरेका छौ । अझै हामी थप अनुसन्धानमा छौ केही व्यक्तिहरुलाई अनुसन्धानको दायरामा पनि ल्याउदै छौ उहाँले भन्नुभयो । पिडित परिवारले पनि किटानी जाहेरी दिनुभएको छ कानुनी प्रकृया पुरा गर्दै हदै सम्मको कार्वाहीका लागि हामी लाग्छौ ।

शरिरका १६ ठाउँमा चक्कु प्रहार
सेवार पुल नजिकै रहेको पसल देखी करिब १ किलोमिटर टाढा पुराएर व्यवसायी घर्ती माथी चक्कु प्रहार गरि हत्या भएको देखिन्छ । घर्तीको शरिरमा १६ ठाउँ चक्कु प्रहार भएको छ । छाती, टाउको, हात र खुट्टा गरि १६ ठाउँ चक्कु प्रहार भएको छ । निकै ठूला घाउहरु देखिन्छ । सर्ट, कोट र पाइन्ट लाई पनि चक्कुले काटेर शरिरका प्राय भाग छियाछिया पारेर हत्या गरिएको छ ।

परिवारको बिचल्ली
व्यवसायी नन्दबहादुर केही महिना पहिले रोल्पाबाट दाङ झरेर पसल सुरुवात गर्न थाल्नुभएको थियो । उहाँको श्रीमती सहित ६ र ७ बर्षिया दुई छोरी र ११ महिनाका छोरा छन् । उनिहरुको बिचल्ली भएको छ यति बेला । श्रीमती सुमित्रा बेहोसमै हुनुहुन्छ भने बालबच्चा टोलाई रहेका छन र बाबा भन्दै छन् ।

को थिए नन्दबहादुर ?
रोल्पा स्थायी घर भएका नन्दबहादुर हाल नेपाल मगर संघको केन्द्रिय सल्लाहकार थिए ।संघका पुर्ब केन्द्रीय उपाध्यक्ष समेत भैसकेको उनि मगर समुदायमा बौद्धिक ब्यक्तिका रुपमा परिचित रुपमा गनिने ब्यक्ति हुन् । लामो समय शिक्षण पेशामा जोडिएका घर्ती मगर समुदायको उत्थानका लागि संघर्षशील ब्यक्ति थिए । शिक्षण पेशासंगै रोल्पामा स्टेशनरी ब्यबसाय गरेका घर्ती पछिल्लो समयमा शिक्षण पेशा छाडेर घोराहीमा भाडाको घरमा हार्डवेयर पसल सञ्चालन सुरु गरेका थिए । रोल्पाको माडी गाउँपालिका—६ कोर्चाबाङका घर्ती मगरलाई अत्यन्त मिजासिलो ब्यक्तिका रुपमा चिनिनुका साथै मगर समुदायलाई एक जुट गराउनका लागि अहोरात्र खटिने ब्यक्तिका चिन्ने गर्दथे ।

चौतर्फि निन्दा र बिरोध
हत्याको चौतर्फी निन्दा र बिरोध भएको छ । व्यवसायीको हत्याको बिरोधमा दाङ जिल्ला उद्योग बाणिज्य संघ, हार्डवेयर तथा पेन्ट व्यवसायी समिति घोराही र नेपाल मगर संघ दाङले शोक बिज्ञप्ती जारी गरी हत्यारालाई कडा कार्वाहीको माग गरेका छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघले शुक्रबार घोराहीका पसलहरु बन्द गर्‍यो । संघका अध्यक्ष नारायण भुसालले शान्ति सुरक्षालाई मजबुद बनाउन स्थानिय प्रहरी प्रशासनलाई आग्रह समेत गर्नुभएको छ । व्यवसाय सञ्चालनमा असुरक्षा देखिएको भन्दै उहाँले प्रत्याभुत हुने गरी सुरक्षा प्रबन्ध मिलाउन आग्रह गर्नुभएको हो । त्यसैगरी, हार्डवेयर तथा पेन्ट व्यवसायी समिति घोराहीले पनि शोक बिज्ञप्ती जारी गर्दै हत्यारालाई कडा कार्वाही गर्न र व्यवसाय सञ्चालनका लागि सुरक्षित बाताबरण बनाउन स्थानिय प्रशासन सँग माग गरेको छ । समितिका अध्यक्ष दामोदर केसीले बिज्ञप्ती जारी गर्दै हत्याको घोरभत्र्साना गर्दै हत्याको शोकमा हार्डवेयर पसल बन्द गरेको जानकारी दिनुभयो । यसैविच नेपाल मगर संघ दाङले पनि आफ्ना संघका केन्द्रिय सल्लाहकार समेत रहेका व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्याको बिरोध गर्दै दोषिलाई हदै सम्मको कार्वाही गर्न माग गरेको छ । संघका अध्यक्ष सितलाल पुनमगरले जारी गर्नुभएको बिज्ञप्तीमा हत्याका बिषयमा निष्पक्ष छानविन गरी दोषीलाई कडा कार्वाही गर्न गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस