घोराही, १४ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लैंगिक समानता घरबाटै सुरुवात गर्नुपर्ने बताउनुभएको छ । लैंगिक हिंसाबिरुद्धको १६ दिवसीय अभियान अन्तर्गत घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले निगरानी समूहका पदाधिकारीहरुलाई आयोजना गरेको लैंगिक हिंसा र दुर्व्यवहार रोक्ने विषयक तालिममा बोल्दै नगर प्रमुख चौधरीले विभेद परिवारबाटै हटाउनुपर्ने बताउनुभयो ।
बढ्दो लैंगिक हिंसालाई रोक्न सचेतना र कानुन कार्यान्वयन नै मुख्य अस्त्र भएको भन्दै उहाँले घरपरिवारबाटै समानताको व्यवहार आवस्यक परेको बताउनुभयो । ‘लैंगिक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ मनाइरहेको १६ दिने अभियानलाई सार्थकता दिन न्यायपूर्ण समाज बनाउन सबै केन्द्रित हुनुपर्ने बताउनुभयो ।
परिवार र समाजलाई सुधार्ने जिम्मा सबैको भएको भन्दै त्यसको नेतृत्व गर्न सामाजिक अभियन्ताहरुलाई अपिल गर्नुभयो । सहकारी र निगरानी समूहमा आबद्ध महिलाहरुले सचेतना जगाउने जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले सचेतना र कानुन कार्यान्वयनले मात्रै लैंगिक समानता कायम हुने बताउनुभयो । शाखा संयोजक पशुपति चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस