तीर्थराज ज्ञवाली
दाङ, १६ मंंसिर । राप्ती गाउँपालिकामा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ । राप्ती गाउँपालिकाको आयोजनामा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आइतवार राप्ती गाउँपालिकाका ९ वटै वडा तथा गाउँपालिकाका जनप्रतिनिधि, निगरानी समूहलगायतका लागि एकदिने लैङ्गिक हिंसाविरुद्धको अभिमुखीकरण तालिम दिइएको हो ।
‘लैङ्गिक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिका क्षेत्रमा १६ दिन नै विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको अवस्था छ ।
आइतवार भएको जनप्रतिनिधि, निगरानी समूहलगायतका लागि एकदिने लैङ्गिक हिंसाविरुद्धको अभिमुखीकरण तालिम राप्ती गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ ।
जनप्रतिनिधि तथा निगरानी समूहलाई लैङ्गिक हिंसा भनेको के हो, कस्तो प्रकृतिको व्यवहारलाई लैङ्गिक हिंसा भनिन्छ, लैङ्गिक हिंसा गर्नेलाई कस्तो सजाए हुन सक्छ र जनप्रतिनिधि, निगरानी समूहको लैङ्गिक हिंसाविरुद्ध कस्तो भूमिका रहन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको छ ।
जनप्रतिनिधि तथा निगरानी समूहलाई लैङ्गिक हिंसाविरुद्ध प्रशिक्षण महिला विकास अधिकृत मोती बिकले दिनुभएको थियो ।

