घोराही, १७ मंसिर । अपांगता भएकाहरुलाई अन्य व्यक्तिको तुलनामा विशेष अवसर दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुको पनि सम्मानपूर्वक पेशा, व्यवसाय गरेर बाँच्न पाउने अधिकार भएको हुँदा राज्यले अपांगता भएकाहरुको रोजगार सुनिश्चितताको लागि विशेष योजना ल्याउनुपर्ने सहभागीहरुको माग थियो ।

२७ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांग मानव अधिकार एवम् सरोकार मञ्चले आयोजना गरेको अपांगता भएकाहरुको सवाल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । वक्ताहरुले शारीरिक रुपमा ठगिएकाहरुको लागि राज्यले जिम्मा लिनुपर्ने बताएका थिए । साथै अपांगता भएकाहरुले पाउनुपर्ने परिचयपत्र पनि न्यायसंगत रुपमा वितरण नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।कार्यक्रममा बोल्दै घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले जन्मजात मात्र नभई दैविक प्रकोप, विभिन्नखाले दुर्घटनामा पनि व्यक्ति अपांग हुनसक्ने भन्दै अपांगता भएकाहरुलाई सबैले माया र सम्मान गर्नुपर्ने बताउनुभयो । उनले अपांगता भएकाहरुलाई पनि सम्मानपूर्वक जीवनयापनको अधिकार भएको हुँदा उनीहरुको क्षमता अनुरुपको पेशा व्यवसाय राज्यले उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख चौधरीले अपांगता भएकाहरुको सवालमा बोल्दै उपममहानगरले सार्वजनिक भवन, व्यक्तिगत भवन, शौचालय, सार्वजनिक स्थलहरु अपांगमैत्री बनाउनुपर्ने नगरको कार्यविधिमै उल्लेख गरेको हुँदा नगरवासीलाई यसको पालनको लागि आग्रह समेत गर्नुभयो । उनले अपांगता भएकाहरुलाई सहयोगी सामाग्री दिने, उनीहरुको चाहाना र क्षमता अनुरुपको तालिम दिने कार्यक्रमहरु उपमहानगरले ल्याएको जानकारी समेत गराउनुभयो । यस्तै उपमहानगर अन्तर्गतका सबै वडाहरुलाई अपांगताको क्षेत्रमा विशेष काम गर्नको लागि आफूले आग्रह गरेको पनि बताउनुभयो ।

नगर प्रमुख चौधरीले अपांगता भएकाहरुलाई आश्वासन दिँदै अपांगता भएकाहरुलाई विकासको मुल प्रवाहमा ल्याउनको लागि उनीहरुलाई कुनै पनि अधिकारबाट बन्चित नगरिने बताउनुभयो ।

अपांग मानवअधिकार सरोकार मञ्चका शिव घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानवअधिकार संजाल दाङका अध्यक्ष केशवकुमार शर्मा, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन, वडा नम्वर १४ का अध्यक्ष शक्तिराम डाँगी, वडा नम्वर १५ का अध्यक्ष रमेश पाण्डे, पत्रकार ओपेन्द्र बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बस्नेत र डाँगी सम्मानित
कार्यक्रममा अपांगताको क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार ओपेन्द्र बस्नेत र स्थानीय निकायमार्फत अपांगताको क्षेत्रमा राम्रो काम गरेको भन्दै वडा नम्वर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रमा सम्मान पाउनेहरुको परिचय वासुदेव रिजालले गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण भूमा चौधरीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस