घोराही, १७ मंसिर । दाङलगायत तीन जिल्ला हेर्ने गरी प्रदेश सरकारको मातहतमा रहेको स्वास्थ्य कार्यालयको स्थापना घोराहीमा गरिएको छ । पाँच नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयअन्तर्गत रहनेगरी साविकको जनस्वास्थ्य कार्यालयमा सोमबार स्वास्थ्य कार्यालयको स्थापना गरिएको हो ।

दाङसहित अर्घाखाँची र कपिलवस्तु गरी तीन जिल्लामा कार्यक्षेत्र रहेको स्वास्थ्य कार्यालयको सोमबार प्रदेश सांसद अमरबहादुर डाँगीले उद्घाटन गर्नुभएको हो । कार्यालयको उद्घाटन गर्दै प्रदेश सांसद डाँगीले स्वास्थ्य कार्यालयको स्थापना हुनु नै संघीयतालाई जीवनशैलीमा परिणत गर्ने प्रक्रिया शुरु भएको बताउनुभयो । उहाँले नेपालमा संघीयता लागु भइसकेपछि संघीयताको अनुभूति हुनेगरी कामहरु भइरहेको बताउनुभयो ।

कार्यालय प्रमुख केशवराज पण्डितको अध्यक्षतामा कार्यक्रम भएको थियो । जनस्वास्थ्य अधिकृत प्रकाशकुमार योगीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा कार्यालय प्रमुख पण्डितले स्थानीय तहमा रहेका स्वास्थ्य शाखासँग समन्वय गर्ने र खोपजन्य सेवा कार्यालयबाट प्रवाह हुने बताउनुभयो । दाङसहित प्रदेश नम्बर पाँचमा ६ वटा स्वास्थ्य कार्यालय रहने उहाँले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस