घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिकामा महामारी रोग तथा प्रकोपजन्य रोगहरुको निवारणका लागि तत्काल सुनुवाई गर्न रेपिड रेस्पोन्स टिम गठन गरिएको छ । उपमहानगरको स्वास्थ्य शाखाले मंगलबार एक कार्यक्रमको आयोजना गरी जनस्वास्थ्य प्रवर्द्धन समितिका संयोजक खोपीराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय रेपिड रेस्पोन्स टिम गठन गरेको हो ।
समितिको सदस्यहरुमा कार्यपालिका सदस्य टोपाकुमारी पौडेल, माया रावत, स्वास्थ्य शाखा प्रमुख कुमारसिंह डाँगी, नारायणपुर स्वास्थ्य चौकी प्रमुख राजेन्द्र हमाल, धर्ना स्वास्थ्य चौकीका भीमकान्त भण्डारी, सैघा स्वास्थ्य चौकीका चित्रबहादुर वली, नयाँ बजार शहरी स्वास्थ्य केन्द्रका राममणि शर्मा, भ्यूडरका शिवराज अर्जेल, रेखा अधिकारी र रामपुर प्रवर्द्धन केन्द्रका विकेश रेग्मी रहनुभएको छ ।
त्यसैगरी वडास्तरमा पनि समुदायस्तरीय रेपिड रेस्पोन्स टिम गठन गर्ने निर्णय भएको छ । सम्वन्धित वडा अध्यक्ष समितिको संयोजक रहने व्यवस्था गरिएको छ । सदस्य सचिवमा स्वास्थ्य संस्था प्रमुख, वडा सदस्य, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाको फोकल पर्सन एक जना सदस्यमा रहने व्यवस्था भएको छ ।
महामारी तथा बिपद् व्यवस्थापनका लागि औषधिहरु नारायणपुर स्वास्थ्य चौकी, सैघा, धर्ना, रामपुर र नयाँबजार स्वास्थ्य केन्द्रहरुमा तयारी अवस्थामा राख्ने निर्णय समेत भएको छ । उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन समितिका संयोजक खोपीराम चौधरीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता सिग्देल न्यौपानेसहित कार्यपालिका सदस्य र स्वास्थ्य संस्था प्रमुखहरुको उपस्थितिमा उक्त समिति गठन गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख चौधरीले कुनै पनि महामारी र बिपद् आउनै नदिन अपनाउन सकिने उपायहरुको बेलैमा खोजी गर्नुपर्नेमा जोड दिनुभएको छ । जनप्रतिनिधि र स्वास्थ्यका कर्मचारीहरुले पनि महामारीका साथै कुनै पनि रोग लाग्नै नदिन समाजमा सचेतना फैलाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष विष्णुमणि दाहाल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, ठाकुर खनाल लगाएतले कुनै पनि रोगबाट बच्न खानपान, सरसफाई र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस