घोराही, २१ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष लछिनप्रसाद बुढाको निधन भएको नवौँ दिनमा शोकसभा गरिएको छ । वडा कार्यालयको आयोजनामा अध्यक्ष बुढाको निधन भएको शोकमा नवौँ दिनको तिथिमा शोक तथा श्रद्धाञ्जलीसभा गरिएको हो ।
वडाका कार्यवहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यता एवं नेकपाका नेता सुरामणि बेल्बासेको विशिष्ट आतिथ्यतामा शोकसभा गरिएको हो । कार्यक्रममा बोल्दै नगरका उपप्रमुख न्यौपानेले इमान्दार, मिलनसार र जुझारु व्यक्तित्व वडा अध्यक्षको असामयिक निधनले ठूलो क्षति भएको बताउनुभयो । दाङ र सिंगो देशले कुशल र सक्षम जनप्रतिनिधि गुमाएको भन्दै उहाँले जनप्रतिनिधि भएर डेढ वर्षमा उहाँले गरेका कामहरु नै उदाहरणीय भएको बताउनुभयो । वडालाई खरको छानो मुक्त गराउनुका साथै वडाको चौतर्फी विकासमा वडा अध्यक्ष बुढाले देखाएको सक्रियतालाई आफूहरुले पूरा गर्ने जिम्मेवारी आएको बताउनुभयो ।नेकपाका नेता सुरामणि बेल्वासेले वडा अध्यक्ष लछिन बुढा जनताका काममा समर्पित, मिलनसार र जनसेवामा लागिरहने असल जनप्रतिनिधि रहेको चर्चा गर्नुभयो । वडाको नेतृत्व सम्हालेको डेढ वर्ष नपुग्दै भएको निधनले एक असल जनप्रतिनिधि र दाङको कम्युनिष्ट आन्दोलनका निष्ठावान् कार्यकर्तालाई गुमाउनु पर्दा अपूरणीय क्षति भएको धारणा राख्नुभयो ।
कार्यक्रममा घोराही उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार, प्रवक्ता भरतमणि अर्याल, दाङ देउखुरी होटल व्यवसायी समितिका सचिव ईश्वरकुमार बुढा, अठार मगरात मगर खाम तथा संस्कृति सम्वाद विकास समितिका दायाजी रोका, नागरिक मञ्चका तुलसा केसी, ल्याण्डफिल साइटका अध्यक्ष देउमन दमाई, सृजनशील आधारभूत विद्यालय तेरौँटेका प्रध्यानाध्यापक रमेश पाण्डे, जागृति सामुदायिक वन समूहका बोधा भण्डारी र वडा बाल सञ्जालका अध्यक्ष सुशान्त गौतम लगायतले बुढाको निधनप्रति दुःख व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस