घोराही, २१ मंसिर । घोराहीमा तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको शुभारम्भ गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ लाई लक्षित गरेर सो आयोजनाको शुभारम्भ गरिएको हो । प्रतिनिधि सभाका सभामुख कृष्णहादुर महराले उक्त आयोजनाको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सभामुुख महराले दाङमा पानीको आपूर्तिका लागि रोल्पाको माडी नदीलाई डाइभर्सन गरेर ल्याउने योजना रहेको बताउनुभएको थियो । घोराही उपमहानगरपालिका १७ गुलरियामा निर्माण भएको तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको शुक्रवार उद्घाटन गर्दै महराले पर्याप्त पानीका लागि माडीको पानी दाङमा ल्याउने योजना रहेको बताउनुभयो ।

माडी नदीको पानीलाई डाइभर्सन गर्दै विद्युत उत्पादन र दाङमा पानी ल्याएर अभाव हटाउने सभामुख महराले बताउनुभयो । बढ्दो पानीको संकटलाई हटाउन माडीको पानीलाई ल्याएर दाङमा खानेपानी र सिंचाईको अभावलाई दीर्घकालिन रुपमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सभामुख महराले छिट्टै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलसहित सिंचाईमन्त्री र दाङबाट प्रतिनिधित्व गर्ने सांसदले संयुक्त रुपमा माडी नदी डाइभर्सन गरेर दाङ ल्याउने घोषणा गर्ने तयारी भएको समेत जानकारी दिनुभयो । बढ्दो जनसंख्यालाई खानेपानीको आपूर्तिका लागि लागि सरकार गम्भीर रहेको र विकल्पहरुको खोजीमा रहेको भन्दै खानेपानी संस्थाले पनि आफ्ना योजनालाई अघि सार्नुपर्ने सभामुख महराले धारणा राख्नुभयो ।

माडी नदीको पानी दाङमा ल्याउन करिब १० वर्ष भन्दा बढी लाग्ने उहाँको तर्क थियो । जनसंख्याको अनुपातमा पानीको स्रोत नभएको भन्दै सभामुख महराले स्रोत बढाउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले दाङ जिल्लामा खानेपानीको अभाव भएको भन्दै यसको विकल्पको खोजी गर्नुपर्ने बताएका थिए । हरेक वर्ष पानीको सतह गरिरिँदै गएको भन्दै पानीको स्रोत जोगाउने योजनाहरुको आवश्यकतामा पनि वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलगायतले बोल्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष बलदेव योगीले स्वागत गर्नुभएको थियो भने  सञ्चालन सचिव सुमन शर्माले गर्नुभएको थियो ।

कुल छ करोड ५२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आयोजनामा नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषबाट २५ प्रतिशत लगानी रहेको छ भने उपभोक्ताले पाँच प्रतिशत योगदान गरेका थिए । यो आयोजनाबाट तीन हजार उपभोक्ता लाभान्वित हुनेछन् । आयोजनाअन्तर्गत चार लाख लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गरिएको छ । कार्यक्रममा आयोजना सम्पन्न गर्नका लागि सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस