घोराही, २४ मंसिर । घोराहीका विभिन्न स्थानमा रहेका १४ जना बालश्रमिकलाई तत्काल उद्धार गरिने भएको छ । हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालले घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा १४ जना बालश्रमिकको उद्धार गर्ने भएको हो ।
नगरस्तरीय बाल श्रमिक उद्धार समितिको सोमबार घोराहीमा बसेको बैठकले घोराहीका विभिन्न पसल र उद्योगमा कार्यरत १४ जना बालकहरुलाई उद्धार गर्ने निर्णय गरेको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार, प्रहरी प्रमुख बेलबहादुर पाण्डेसहित विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मिलित उद्धार समितिको बैठकले १८ वर्ष मुनिका बालकहरुलाई श्रमबाट उद्धार गरेर घरमा पुनर्स्थापना गर्ने निर्णय गरेको हो ।
उद्धार गर्नका लागि हिप्डेकले बालकहरुको पहिचान र उनीहरुको सबै विवरण संकलन गरेको हिप्डेकका अध्यक्ष विकिरण गौतमले जानकारी दिनुभयो । अहिलेसम्म हिप्डेकले युनिसेफ र घोराही उपमहानगरपालिकाको सहयोगमा १ सय ३० बढी बालबालिकालाई श्रमबाट उद्धार गरेर घरमा पुनर्स्थापना गरी विद्यालयमा भर्ना गराएको समेत उहाँले जानकारी दिनुभयो ।
श्रमिक बालकहरुलाई श्रमबाट उद्धार गरी परिवारको रोजाईमा आयआर्जनका लागि व्यवसाय गर्न आर्थिक सहयोग समेत गर्दै आएको हिप्डेकले जनाएको छ । बाख्रापालन, किराना पसल सञ्चालन, ठेला व्यवसाय, सुंगुर तथा बंगुरपालनका लागि आर्थिक सहयोग गर्ने योजना रहेको र व्यवसायबाट आउने रकमले पुनर्स्थापित बालबालिकाहरुको शैक्षिक सामग्रीका लागि सहजता ल्याउने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस