घोराही, २ पुस । घोराहीका विभिन्न पसल तथा उद्योगमा कार्यरत १४ जना बालश्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेक नेपालले उद्धार गरेका १४ जना श्रमिक बालबालिकालाई नगर प्रमुख नरुलाल चौधरीले आवस्यक शैक्षिक सामग्रीहरुसहित माला लगाएर परिवारको जिम्मा लगाउनुभएको हो ।
कामबाट उद्धार गरिएका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने सहमतिअनुसार परिवारलाई आयआर्जनका लागि जनही १५ हजार रुपैयाँ व्यवसाय गर्ने रकम समेत दिइएको छ । उद्धार तथा पुनर्स्थापना गरिएका बालबालिकाहरुमा घोराही १४ का सन्दिप परियार, विकास बिक, सागर बुढाथोकी, चन्दा विश्वकर्मा, विजय विक, वडा नम्बर १५ का धनबहादुर डाँगी, कमल सार्की, वडा नम्बर ३ का आशिर्वाद चौधरी, वडा नम्बर १३ का मिलन परियार, प्रेम विक, वडा नम्बर ७ का तुलसा विक रहेका छन् ।त्यसैगरी, तुलसीपुर १८ का सुरेश नेपाली, बंगलाचुली ४ का धनबहादुर घर्ती, केशव नेपालीलाई पनि कामबाट उद्धार गरेर परिवारमा पुनर्स्थापना गरिएको छ । विद्यालय जानका लागि उनीहरुलाई पोशाक, झोला, कापी, कलम उपलब्ध गराइएको छ भने अभिभावकलाई १५ हजार रुपैयाँका दरले उत्पादनमूलक काम गर्न रकम दिइएको छ ।
ग्रिल उद्योग, गाडी धुलाई सेन्टर, होटल, फर्निचर उद्योग, जुत्ता सिलाउने पसलबाट उनीहरुलाई उद्धार गरेर परिवारमा पुनर्स्थापना गरिएको हिप्डेकका अध्यक्ष विकिरण गौतमले जानकारी दिनुभयो । उनीहरुलाई नियमित निगरानी राखेर विद्यालय पठाइने र अभिभावकले व्यवसाय सञ्चालन गरेर पढाई खर्च जुटाउने उहाँको भनाइ छ ।
बालबालिकालाई परिवारको जिम्मा लगाउँदै नगर प्रमुख नरुलाल चौधरीले अभिभावकहरुलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । आफ्ना बालबालिकालाई उमेरअनुसार उसले पाउने अधिकारको ग्यारेण्टी अभिभावकले नै गर्नुपर्ने भन्दै बालबालिकालाई श्रममा नपठाउन आग्रह गर्नुभयो ।
उपमहानगरलाई बालमैत्री नगर बनाउने योजना रहेको भन्दै उहाँले काममा लगाउने र पठाउने दुबैलाई कार्वाही हुने कानुनमा व्यवस्था भएको भन्दै सचेत बन्न सबैलाई उहाँले अपिल समेत गर्नुभएको छ ।
परिवारको जिम्मा लगाउने कार्यक्रममा नगरका सम्बन्धित वडाका अध्यक्षहरुलाई समेत नगर प्रमुख चौधरीले निगरानी राख्न निर्देशन दिनुभयो । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस