घोराही, १२ मंसिर । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिनुभएको छ । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्मका निर्माणाधीन पुल तथा सडकको निरीक्षण गर्दै मुख्यमन्त्री यस्तो चेतावनी दिनुभएको हो ।
मुख्यमन्त्री पोख्रेलले संघीय संसदका सांसद हिराचन्द्र केसी, शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, सडक कार्यालयका इन्जिनियर लीलाबहादुर भण्डारीसहितलाई लिएर सडक तथा पुलको निरीक्षण गर्नुभएको थियो ।
बबई खोला, सिस्नेखोला, कटुवाखोला, गुर्जेखोला, पत्रेखोला, संक्राम खोला, ग्वारखोला लगायतका स्थानमा निर्माणाधीन पुल र घोराही तथा तुलसीपुर बजारमा विस्तार भैरहेको सडकको अवस्थाका बारेमा जानकारी लिँदै निरीक्षण गर्नुभएको हो । पुल तथा सडक निर्माणमा अत्यन्त ढिलाई भएको भन्दै उहाँले सडक कार्यालय तथा निर्माणको जिम्मा लिएकाहरुसँग जवाफ माग गर्नुभयो ।
सडक कार्यालयले निर्माण व्यवसायीले जिम्मेवारीपूर्वक काम नगरेकै कारण पुल तथा सडक अलपत्र परेको बताएको छ । इन्जिनियर लीलाबहादुर भण्डारीले निर्माण व्यवसायीले काम नगर्ने र नियमक निकायको माथिल्लो निकायले कार्वाही गर्न नसक्दा नागरिकले सास्ती पाएको बताउनुभयो ।
मुख्यमन्त्री पोख्रेलले अबको तीन महिनाभित्र घोराही र तुलसीपुर बजारका विस्तारित सडकहरु निर्माण गरिसक्ने गरी काममा निगरानी बढाउन निर्देशन दिनुभयो । मुख्यमन्त्री पोख्रेलले पेटी ठेकेदारमार्फत काम नगर्न र टुक्रे योजनामा फरक फरक ठेक्का लगाउने काम रोक्न सडक कार्यालयलाई निर्देशन दिनुभएको छ । सडक कार्यालयका इन्जिनियरहरुलाई मुख्यमन्त्री पोख्रेलले कार्यालय अगाडि सडक बिग्रिएको र पिच नटिक्ने के कारणले हो भन्दै प्रश्न गर्नुभयो । उहाँले जसरी भए पनि गुणस्तरीय काम हुनुपर्ने र आगामी वर्षा अगावै पुल तथा सडक सञ्चालनमा ल्याउन सडक कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस