दाङ, २८ वैशाख । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले जेठ दोस्रो साता पार्टी एकीकरणको टुुङ्गो लाग्ने बताउनुभएको छ । शुुक्रबार प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताउनुभएको हो । पार्टी एकीकरणका केही प्राविधिक विषय टुंग्याउने काम अन्तिम चरणमा पुगेको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । ‘बढीमा १५ दिन लाग्नसक्छ सबै विषय टुुंगिसकेको छ’ एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका पोख्रेलले देशका दुई ठुला पार्टी एकीकरण हुनेमा शंका नगर्न आग्रह समेत गर्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले देशका दुई ठुला दल एक हुने कुराले देशमा स्थायित्वको सुनिश्चितता गर्ने दावी गर्नुभयो । राजनीतिक अस्थिरताले हुने सरकार फेरबदलले देशको विकासमा समस्या परेको उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले छिटोछिटो सरकार परिवर्तन हुँदा विकासका प्राथमिकता पनि फरक हुने भएकाले देशको विकासमा समस्या आएको समेत उल्लेख गर्नुभयो । उहाँले भन्नुुभयो, ‘एमाले र माओवादी केन्द्रको एकताले देशको विकास र समृद्धि तथा स्थायित्वको ग्यारेन्टी हुन्छ ।’

मुख्यमन्त्री पोख्रेलले केन्द्रीय सरकारले जेठ १५ गते ल्याउने बजेटले संघीयता कार्यान्वयनको सुनिश्चितता गर्ने बताउनुभयो । उहाँले संघीयता कार्यान्वयनका लागि कर्मचारी समायोजनको कुरा हुन नसक्दा समस्या भएको बताउनुभयो । ‘संघीय संरचना स्थापना गरियो, त्यसलाई कार्यान्वयन गर्न कर्मचारी समायोजन गर्ने कुरा संविधानमै उल्लेख गरिएको थियो तर व्यवस्थापन गर्ने काम मात्रै भयो’ मुख्यमन्त्री पोख्रेलले भन्नुुभयो ‘व्यवस्थापनले कार्यान्वयन हुन सक्दैन कर्मचारी समायोजन आवस्यक छ ।’

अर्को प्रसङ्गमा मुख्यमन्त्री पोख्रेलले आगामी वर्ष कानुन निर्माणको वर्ष हुने बताउनुभयो । उहाँले पाँच नम्बर प्रदेशको समृद्धिको फाउण्डेशन कृषि भएको उल्लेख गर्दै कृषि प्रवर्द्धनका लागि सिंचाईको आयोजनालाई प्राथमिकीकरण गर्ने बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले पाँच नम्बर प्रदेश हिमाल, पहाड, तराईको सङ्गम भन्दै तराईका ३ महानगरमा औद्योगिक क्षेत्रको विकास गरिने बताउनुभयो ।

प्रेस चौतारी दाङका अध्यक्ष जे.एन. सागरको अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रम भएको थियो । प्रेस सेन्टर दाङका कार्यवहाक अध्यक्ष प्रकाश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद प्रेस चौतारी दाङका सचिव प्रेम राम्जाले गर्नुभएको थियो भने सञ्चालन प्रेस सेन्टरका सचिव पाण्डवप्रसाद शर्माले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस