कमिरेचौर, १९ माघ । दाङको एक मात्र पहाडी गाउँपालिकाका रुपमा रहेको बंगलाचुली गाउँपालिकाको गाउँ सभा शुरु भएको छ । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले शनिबार गाउँ सभाको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सम्पूर्ण तहमा काननुन निर्माण नहुँदासम्म परिवर्तन संस्थागत हुन नसक्ने बताउनु भयो । उहाँले देशमा बनेको काननुले मात्रै विकासमा सहजता ल्याउने बताउनु भयो । ‘सम्वृद्ध प्रदेश खुसी जनता’ भन्ने नाराका साथ प्रदेश नम्वर ५ ले कानुन निर्माणको वर्षको रुपमै लिएर यो वर्ष कामकाज अघि बढाई रहेको जानकारी गराउनुभएको थियो ।

बंगलाचुली गाउँपालिकाको चौथो गाउँसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देशको विकासका लागि सम्पूर्ण राजनीतिक दहरुको बीचमा सहकार्यको आवश्यकतालाई जोड दिनुभयो । उहाँले अहिलेको अवस्थामा राजनीतिक पार्टीहरु सत्ता र प्रतिपक्षको भूमिकामा रहनु भनेको देशको विकासमा अवरोध सिर्जना गर्नु रहेको बताउनुभयो । देश विकासको सवालमा राजनीतिक दलहरु मिलेर काम गर्नु पर्नेमा मुख्यमन्त्री पोखरेलको आग्रह थियो । मुख्यमन्त्री पोखरेलले भन्नुभयो–‘जुनसुकै पार्टीले चुनाव जितेको भएपनि उसको पाँच बर्षे कार्यकाल रहन्छ । त्यसमा शुरुको चुनावी वर्षमा आफ्नो राजनीतिक ऐजेण्डामा बहस गरौं अनि चुनाव गराउने वर्षमा पनि राजनीतिक ऐजेण्डामा बहस गरौैं तर बाँकी तीन वर्षमा राजनीतिक सहमतीका साथ अघि बढौं । यसरी अघि जाँदा देशको विकास गर्न सकिन्छ । होईन भने अव प्रतिपक्ष र सत्ता पक्षको भूमिकामा रहेर राजनीति गर्दा देशको विकासमा अवरोध सृजना हुन्छ ।’

उहाँले बंगलाचुली गाउँपालिकाको विकासका लागि आफु गम्भीर रहेको बताउनु भयो । बंगलाचुली भौगोलीक रुपमा विकट रहेतापनि अव यहाँका जनताले परिवर्तनको अनुभुति गर्ने बताउनु भयो । पोखरेलले भन्नु भयो,–‘यहाँका जनताहरु सुविधा खोज्दै हिजोका दिनमा तराई झर्ने गर्थे अव तराईका जनता बंगलाचुली तर्फ उक्लिने दिन आउन थालेको छ ।’ मुख्यमन्त्री पोखरेलले बंगलाचुलीको सम्भावनाले सवैलाई आकर्षित गर्ने बताउनुभयो । उहाँले जनताको जीवन स्तरमा परिवर्तन ल्याउने गरी काम गर्न बंगलाचुलीका जनप्रतिनीधिहरुलाई आग्रह गर्नु भयो । गाउँ बस्तीका जनताको मर्म र भावना अनुसार कानुनहरु निर्माण गर्दै काम गर्ने सुझाव पनि उहाँको थियो ।

बंगलाचुली गाउँपालिकाको चौथौ गाउँसभामा उद्घाटन कार्यक्रम शनिबार देखि शुरु भएको र आज आइतबारदेखि केही परिमार्जीत निती तथा कार्यक्रम र पाँच वटा विधेयक पास गर्नेछच ।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले बंगलाचुली गाउँपालिकाको समग्र विकासमा आफुहरुले साथ दिने बताएका थिए । उनिहरुले बंगलाचुली दाङको विकट क्षेत्र रहेतापनि यहाँ प्रशस्तै सम्भावना रहेको भन्दै यसको विकासका लागि जनप्रतिनिधीहरुको ठुलो भूमिका रहने बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कार्यदल सदस्य सुवास पुनले यहाँको विकास निर्माणमा स्थानीयको उल्लेख्य सहभागीता गराउनु पर्नेमा जोड दिनु भयो । उहाँले विकास निर्माणमा जनतालाई सहभागी गराउँदा अपनत्वको हुने भन्दै भौतिक विकासका काममा जनतालाई सहभागी गराउन अनुरोध गर्नु भयो । उहाँले पछिल्लो चरणमा कम्युनिष्टहरुको राम्रो कामको विरुद्धमा घेराबन्दी शुरु भएको भन्दै यसमा सबै सचेत हनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले बंगलाचुली गाउँपालिकाको विकासका लागि अफुहरुले अहोरात्र खटीरहेको बताउनुभयो । उहाँले बंगलाचुलीका जनतालाई आभास हुने गरी विभिन्न खालका विकास निर्माणहरु भईरहेको जानकारी गराउनु भयो । अध्यक्ष ओलीले बंगलाचुलीको विकासका लागि संघ र प्रदेश सरकारले राम्रो सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका बंगलाचुली प्रतिनीधी जागेश्वर अधिकारी, नेपाल रेडक्रश कमिरेचौर उपशाखाका सभापती चुरामणी नेपाली, बनमहासंघमा सचिव चेतनाथ पौडेल, शिक्षक महासंघका केशर गौतम, उद्योगी वासुदेव पाण्डे, नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र ओलीलगायतले बोल्नु भएको थियो ।

बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापामगरको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रममको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले गर्नु भएको थियो । सोही कार्यक्रममा गाउँपालिकाले विभिन्न क्षेत्रका कर्मचारीहरुलाई सम्मान एवं पुरस्कृत गरेको थियो । शिक्षक, प्रधानाध्यापक, कर्मचारी र विद्यालयलाई पुरस्कृत गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस