घोराही, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम घोराहीमा कार्यरत तत्कालीन तीनजना कर्मचारीबिरुद्ध झुट्ठा टिकट पेश गरेर रकम बुझेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा नेपाल टेलिकम दूर सञ्चार कार्यालय घोराहीमा कार्यरत कर्मचारीहरुले हवाई जहाजमा यात्रा नै नगरी फर्जी टिकट पेश गरी भुक्तानी लिएको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ । करिब चार वर्ष पहिले टेलिकम कार्यालय घोराहीमा कार्यरत सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य, प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठ र कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंहले हवाइजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी झुट्टा टिकट बनाई रकम भुक्तानी लिएको आयोगको ठहर छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो । आरोपित अनिलकुमार आचार्य टेलिकम तुलसीपुर रविकलकुमार श्रेष्ठ टेलिकम बबरमहल कार्यालयमा कार्यरत छन् भने राजबहादुर सिंह २०७३ सालमै अवकास लिइसकेका छन् ।


