घोराही, १६ फागुन । घोराही उपमहानगरपालिका–१७ का चारजना सिकलसेलका बिरामीलाई विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् । सिकलसेलका बिरामीहरु २५ वर्षीया कमला चौधरी, उहाँका छोरीहरु १० वर्षीया सम्झना चौधरी, आठ वर्षीया माधवा चौधरी र छ वर्षीय छोरा गोविन्द चौधरीलाई खाद्यान्न, स्टेशनरी र विद्यालयमा पठनपाठनका लागि १० हजार रुपैयाँ उपलव्ध गराइएको हो ।
पत्रकार सन्तोष अधिकारीको पहलमा घोराहीका लेखराज डिसीले दुईजना बच्चाका लागि शैक्षिक शुल्कस्वरुप १० हजार, गणेश श्रेष्ठ र रजनी श्रेष्ठले चामल, तेल तथा ग्रामीण महिला उत्थान केन्द्रले स्टेशनरी सामग्री उपलव्ध गराउनुभएको थियो ।
बिहीवार पत्रकार महासंघको कार्यालयमा महासंघका केन्द्रीय सचिव उदय जीएम, जिल्ला अध्यक्ष सविन प्रियासन, घोराही उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष खुशीराम चौधरी र सहयोगकर्ताहरुले संयुक्तरुपमा पीडित परिवारलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा पीडित कमलाका श्रीमान् छेदुलाल चौधरीले सहयोग गर्नेहरुलाई धन्यवाद दिनुभएको थियो ।











