दार्मा, ७ कार्तिक । ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा तथा भवन उद्घाटन सम्पन्न भएको छ । दार्मा गाउँपालिका वडा नं. ५ त्रिवेणीस्थित नवनिर्मित ३ कोठे पक्की भवनको बिहीबार दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सहकारीले नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सहकारीबाट लिएको ऋणलाई सही ठाउँमा उपयोग गर्न सुझाव दिनुभयो । गाउँपालिकाले स्थानीय उत्पादनमा बृद्धि गर्न योजना ल्याएको बताउँदै उहाँले कृषि उत्पादनलाई पकेट क्षेत्रको रुपमा विकास गरेर लैजान सके आर्थिकस्तरमा तत्काल सुधार ल्याउन सकिने धारणा राख्नुभयो ।
यस आर्थिक वर्षमा गाउँपालिकाले १ करोड रकम सहकारीमार्फत परिचालन हुने गरी विनियोजन गरेको जनाउँदै उहाँले उपयुक्त कार्यक्रमको प्रस्तावन पेश गरी प्रक्रियागतरुपमा त्यसको प्रतिफल आउनेगरी काम गर्न सहकारीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमकी विशिष्ट अतिथि दार्मा गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले सहकारीले व्यावसायिक कृषिलाई प्रवद्र्धन गरी उत्पादनमा बृद्धि ल्याउनुपर्ने धारणा राख्नुभयो । जनताको चेतनामा बृद्धि ल्याउने तथा सकारात्मक सोचको विकास हुने खालका कार्यक्रम गर्न सके मानिसलाई सही बाटोमा ल्याउन सकिने बताउँदै उहाँले कृषि पेशालाई पनि आधुनिक तथा प्रविधियुक्त बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष रामबहादुर केसी, वडा नं. ६ का अध्यक्ष दुर्गाबहादुर मल्ललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारीकी अध्यक्ष सीता विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहकारीका प्रबन्धक सुरेन्द्र केसीले गर्नुभएको थियो ।
१५ लाखको लागतमा निर्माण भएको भवनमा गाउँपालिकाले ९ लाख ७ हजार रुपैयाँ अनुदान दिएको दिएको भने ५ लाख ७० हजार राष्ट्रिय सहकारी विकास बोर्डले अनुदान उपलब्ध गराएको थियो ।
२०७० सालबाट अनुशरण कार्यक्रम सुरु भई साविक ढाकाडाम गाविसका किसान महिलाहरुको संलग्नतामा २०७१ सालमा दर्ता भई २०७२ मा हस्तान्तरण भएको सहकारीमा हाल १२७ महिला समूहहरु तथा ७५७ सदस्यहरु रहेका छन् । संस्थाले गत आर्थिक वर्षमा ६९ लाख ६७ हजार ९ सय ६ बचत सङ्कलन, १ करोड ३४ लाख ४८ हजार ४ सय ५० रुपैयाँ फिर्ता गरी वर्षको अन्त्यमा ९४ लाख ३६ हजार ३ सय ५४ रुपैयाँ निक्षेप मौज्दात रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थामा समूह बचत, व्यक्तिगत बचत, ग्रा.सु. बचत, बाल बचत, सञ्चयकोष बचत खाताहरु सञ्चालनमा रहेका छन् । संस्थाले गत आवमा ५ लाख ५० हजार १ सय ९७ रुपैयाँ मुनाफा गरेको छ ।
सहकारीले पशु सुरक्षण कार्यक्रम, सामाजिक, सामुदायिक कार्यक्रममार्फत कृषि तथा पशुपालन गरिरहेका किसानहरुलाई सहयोग समेत गर्दै आएको छ । कार्यक्रममा अध्यक्ष सीता विकले सञ्चालक समितिको प्रतिवेदन, प्रबन्धक सुरेन्द्र केसीले आगामी कार्यक्रम तथा बजेट तथा लेखा समितिका संयोजक मीना बुढाथोकीले लेखा समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।












