घोराही, १७ पुस । घोराही बजार क्षेत्रका विभिन्न पसलहरुमा काम गर्दै आएका ६ जना बालश्रमिकलाई उद्धार गरिएको छ । घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेकले बजार क्षेत्रका बिभिन्न पसलहरुबाट उद्धार गरेका बालकलाई आज परिवारको जिम्मा लगाइएको हो ।

गाडी धुलाई, जुत्ता पसल, होटल, ग्यारेज लगाएतका क्षेत्रमा काम गर्दै आएका बालकलाई उद्धार गरेर पढाई खर्च र शैक्षिक सामाग्रि सहित परिवारमा पुर्नःस्थापना गरिएको हो । घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनार र हिप्डेकका सचिब शदर अधिकारीले श्रमिक बालकहरुलाई परिवारको जिम्मा लगाउनुभएको हो ।

ति बालकहरुको पढाई खर्च जुटाउन आयआर्जनका लागि १५ हजार रुपैयाँ अभिभाबकलाई दिईएको छ भने बालकहरुलाई विद्यालय पोषाक, झोला, कापी, कलम उपलब्ध गराईएको छ । नगर उपप्रमुख न्यौपानेले बालबालिकालाई काममा लगाउन नपाईने भन्दै इमान्दारीका साथ घरमा लगेर पढाउन आग्रह गर्नुभयो ।

मुलुकी अपराध संहित ऐनले १४ बर्ष मुनीका बालबालिकालाई काममा लगाउन नपाईने उल्लेख गरेको भन्दै उहाँले परिवारमा पुर्नःस्थापना गरिएको बालकहरुको अबस्थाका बारेमा अनुगमन भैरहेको भन्दै सचेत गराउनुभयो । बालबालिकालाई श्रममा लगाए र दास बनाएको ठहर भएमा ५ देखी १० बर्ष जेल सजाय र ५० हजार देखी १ लाख सम्म जरिवानाको व्यवस्था छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस